योजना छनौटमा अझैं सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनौटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा थप सुधार आवश्यक रहेको बताएका छन् ।


प्रदेश योजना आयोगद्धारा मंगलबार सुर्खेतमा आयोजित आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ र कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नुपर्नेमा जोड दिए ।

विकास र निर्माणमा गर्ने आ–आफ्नो बजेट भएपनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । उनले प्रदेश सरकार, स्थानीय सरकार र सङ्घ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनौट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिए ।  एमालेका प्रमुख सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै विगतका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जनाए ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका माननीय सभामुख नन्दा गुरुङ्ग, पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेशसभा सदस्यहरु, गाउँपालिका महासंघ र नगरपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,