योजना छनौटमा अझैं सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनौटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा थप सुधार आवश्यक रहेको बताएका छन् ।


प्रदेश योजना आयोगद्धारा मंगलबार सुर्खेतमा आयोजित आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ र कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नुपर्नेमा जोड दिए ।

विकास र निर्माणमा गर्ने आ–आफ्नो बजेट भएपनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो । उनले प्रदेश सरकार, स्थानीय सरकार र सङ्घ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनौट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिए ।  एमालेका प्रमुख सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक संकेत दिएको बताउँदै विगतका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिइन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जनाए ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका माननीय सभामुख नन्दा गुरुङ्ग, पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेशसभा सदस्यहरु, गाउँपालिका महासंघ र नगरपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।