सुर्खेत– सुर्खेतको मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक अन्तर्गत झण्डै सात किमि सडकको निर्माण कार्य सुरु भएको छ । आइतबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगरलाई बर्दियासँग जोड्ने छोटो मार्गको पहिलो खण्डको स्तरोन्नति कार्यको शिलान्यास गरे ।
मुख्यमन्त्री कँडेलले पहिलो खण्डको कार्य सुरु भएसंगै दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताए । नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उनले यसलाई पूर्णता दिन सकिएको खण्डमा बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिने बताए । तेलपानी–भुरीगाउँ सडक सिंगो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो ।
मुख्यमन्त्री कँडेलले सडकलाई पूर्णता दिएर सुर्खेतको रानीघाटलाई देवघाटसरह धार्मिक क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री शेरबहादुर बुढा, राज्यमन्त्री गमता विक, प्रदेशसभा सदस्य सन्तोषी शाही, वीरेन्द्रनगरका उपप्रमुख निलकण्ठ खनाल लगायतको उपस्थिति थियो । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले तोकिएकै समयमा काम सम्पन्न गर्न स्थानीयको सहयोग अनिवार्य रहेको धारणा राखे । निर्देशनालयले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नति कार्यका लागि ठेक्का आह्वान गरेको थियो । १० किमिमध्ये ७ किमि कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माणको काम थालनी भएको हो ।
३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको हो । मुलपानी–रानीघाट सडकको १० किमिमध्ये मुलपानीदेखि फलाँटेसम्मको तीन किमि सडक कालोपत्रे भइसकेको छ ।
आर्थिक वर्ष २०७६/७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएपनि काम सुरु हुन सकेको थिएन । २०७६/७७ मा दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो । पहिलो खण्ड अन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म १० किमि सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कर्णाली समय । १२ जेष्ठ २०८२, आईतवार २२:४६