‘अधुरा योजना आगामी वर्ष पुरा’

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीमात्र नभई पश्चिम नेपालकै सम्भावनाशील सहरका रूपमा उदाएको छ । उपमहानगरउन्मुख यात्रामा अघि बढिरहेको यो नगरले सहरी पूर्वाधार, सेवा प्रवाह, योजनाको कार्यान्वयन र समग्र विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमहरु अन्तिम चरणमा पुगेका छन् भने आगामी वर्षका नीति तथा कार्यक्रम निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । नगरले गरेका उपलब्धि, सिकाई, चुनौती र भावी योजनाका सम्बन्धमा नगर प्रमुख मोहनमाया ढकालको ब्रिफिङ यस्तो छः


अधुरा योजना आगामी वर्ष पुरा
यस वर्ष हामीले केही पूर्वाधारलाई फिनिसिङ गर्नुपर्नेछ । केहीको टेण्डर भएको छ । आउँदो बजेटमा राखेर भुक्तानीको सुनिश्चितता गरिनेछ । सिटी बसपार्क बन्न समय लाग्छ, यस वर्ष वडा नं १ मा कर्णाली बसपार्क बनाउन अध्ययन गरिसकेका छौं । नीति तथा कार्यक्रममा पनि आइसकेको कुरा हो । यो बन्न सात–आठ वर्षै लाग्न सक्छ । सिटी बसपार्कमा पार्किङ व्यवस्थापनका लागि टेण्डर आव्हान भइसकेको छ । पुरानो हङकङ बजार बसेको क्षेत्रलाई पनि पार्किङस्थल बनाइँदैछ । घण्टाघर पश्चिममा खुला पार्क बनाएपछि घण्टाघरभित्र हामीले खाली गरेको क्षेत्रलाई बहुवर्षीय योजना बनाएर पूर्ण भुक्तानी गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । घण्टाघरको पश्चिम हटिया क्षेत्रमा मण्डला प्रकृतिको र बाँकी साइडमा मोटरसाइकल पार्किङ स्थल बनाउँदैछौं ।
केही महत्वपूर्ण सडकहरु, फोहोर व्यवस्थापन, ल्याण्ड फिल्ड साइट व्यवस्थापन गरिएको छ । कुहिने फोहोरको समस्या छैन् । नकुहिने फोहोरका लागि उचित व्यवस्थापन गर्दैछौं । सुकुम्बासी समस्या समाधान गर्ने गरी अव्यवस्थित बसोबासलाई व्यवस्थित गराइँदैछ । सुब्बाकुना–बांगेसिमल, मंगलगढी–कांक्रेविहार सडकमा बत्ती जडान गर्दैछौं । हटलाइन सडक क्षेत्रमा पनि बत्ती जडान गरेर सहर सुरक्षाका लागि सिसिटिभी जडानको कार्यक्रम छ ।
यस वर्ष वीरेन्द्रनगरका दुई ठाउँमा आकोशपुलका लागि छनौट गरिएको छ । मंगलगढी र एरिचोक । मंगलगढी पिडिआर भई टेण्डर प्रक्रिया सुरु भएको छ । एरिचोक राष्ट्रिय राजमार्गमा पर्ने भएका सडक विभागको अनुमति मागेका छौं । यसका लागि चालू आवमा पनि बजेटिङ गरेका छौं । नपुगेमा अर्को वर्ष विनियोजन गर्नेछौं । आकाशेपुल पनि हाम्रो प्राथमिकताको आयोजना हो ।
आगामी प्राथमिकता
हामी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा छौं । आगामी वर्ष पूर्वाधार विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला, उद्यमशिलता र स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राख्ने गरी छलफल अघि बढाएका छौं । सहरलाई व्यवस्थित गर्न सिसिटिभी क्यामरा, सडक बत्ती र नगर बस व्यवस्थापन गर्ने कुरामा हामी गम्भीर छौं । किनभन्दा वीरेन्द्रनगरमा यति धेरै जनसंख्या बढेको छ कि यहाँ ट्राफिक म्याजेटमेन्ट गर्न समेत गाह्रो भइसक्यो । हाइवेमा साना सवारी चल्दा जहाँ मन लाग्छ त्यही रोक्ने, भाडा बढी भयो भन्ने गुनासो सुन्दै आएका छौं, एकपटक निजी क्षेत्रसंग सहकार्य गरेर नगर बस चलाइएको पनि हो, मूल्यवृद्धि, महंगीका कारण सम्भव भएन भन्ने गुनासो आयो । विद्यार्थीलाई पनि ध्यानमा राखेर नगर बस सञ्चालन गर्ने सोचमा छौं ।
भेरी पम्पिङको प्रगति
वीरेन्द्रनगर नगरपालिकाको सबैले चासोका साथ हेरेको आयोजना हो, भेरी पम्पिङ । तीन वटै तहका सरकारको सहभागितामा निर्माण हुन लागेको ठूलो प्रोजेक्ट पनि हो । खानेपानी आयोजना समयमै सम्पन्न गर्न नगरपालिकाले व्यवस्थापनको काम गरिरहेको छ । समन्वय सहजीकरणदेखि समयमै निर्णय गर्ने कुरामा हाम्रो पक्षबाट कुनै कमी हुन दिएका छैनौं । यो आयोजनाको दुई चरणमा टेण्डर भएको थियो । पहिलो चरणमा भेरीको पानी पम्पिङ गरेर ट्यांकीसम्म पु¥याउने । करिब ४ अर्बको टेण्डर भएको छ । । पाइप गाड्ने, कन्ट्याक्टरसंग सम्झौता गर्ने काम भएको छ । साना ट्याङ्की बनाउने काम सुरु भएको छ । मेन ट्यांकी र पम्पिङ गर्ने ठाउँ वन क्षेत्रमा पर्ने हुँदा वन क्षेत्रमा पर्ने संरचना बनाउनका लागि नेपाल सरकारबाट भोगाधिकार पाइसकियो । मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि पनि त्यसका केही प्रक्रियागत काम हुँदारहेछन् । जस्तो जग्गा प्राप्ति गरेपछि जग्गा नदिए मुआब्जा दिनुनपर्ने, नभए मुआब्जा दिनुपर्ने शर्तहरु हुँदारहेछन् । यी काम गर्न एक–डेढ महिना लाग्दोरहेछ । यो वर्ष अर्थ मन्त्रालयले राष्ट्रिय प्राथिमकिता प्राप्त आयोजनालाई मुआब्जा दिनुनपर्ने, बजेटमा समावेश गर्ने निर्णय गरेको छ । अब पत्र पाएपछि रुख काट्न सुरु हुन्छ । भेरी पम्पिङ खानेपानी आयोजना बनेपछि ९० लाख लिटर खानेपानी रिर्जभ गर्ने ट्याङ्की र पम्पिङ गर्ने ठाउँलाई आधार मानेर शिलान्यास गरिनेछ । यो आयोजनाले वीरेन्द्रनगरका १३, १४ र १५ वडामा पनि एकिकृत खानेपानी सेवा पु¥याउने विषयमा अध्ययन भइरहेको छ ।
सिटीहल विवाद
सिटी हलभित्र फिनिसिङका कुरा बाँकी थियो । सहरी विकास मन्त्रालयले हामीलाई हस्तान्तरण ग¥यो । ठेकेदारले भुक्तानी पाउने विषयमा विवाद रहेछ, अदालतले पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्छ भनेर आदेश दिएको छ । सहरी विकास मन्त्रालयलाई छिटो बाधा नफुकाउँदा ठेकेदारले हामीलाई सञ्चालन गर्न दिएको छैन् । यो सिटिहल ठूलो कार्यक्रम गर्ने एकमात्र स्थान हो । यसमा हाम्रो तहबाट कुनै कमजोरी भएको होइन, सहरी विकास मन्त्रालयलाई छिटो ठेकेदारसंगको विवाद समाधान गर्न अनुरोध गर्दै आएका छौं ।
नगर अस्पताल व्यवस्थापन
हामीले नगर अस्पताल सुरु गरेका छौं । फार्मेसी, ल्याबसहित दुई एमबिबिएस डाक्टरले सेवा दिइरहनुभएको छ । प्रदेशमा विशेषज्ञ डाक्टर पठाउन अनुरोध गरेका छौं । दैनिक १०० बढी बिरामीले सेवा लिइरहेको अवस्था छ । प्रसुतिसंग सम्बन्धित एवं महिला तथा बालबालिका अस्पतालका विकास गर्ने नीति अनुसार नगर अस्पताललाई विकास गरिरहेका छौं । आम नागरिक, दैनिक ज्यालादारीमा काम गर्ने जो निजी स्वास्थ्य संस्थामा काम गर्न नसक्नेलाई लक्षित गरी साँझ बिहान नियमित विशेषज्ञ सेवा सञ्चालन गरिएको छ ।
अहिले नगरपालिका शिक्षा, स्वास्थ्य र कृषिजस्ता जनसरोकारका विषयमा पनि केन्द्रित छ । स्वास्थ्यमा असाध्यै मन पराइएको र महिला दिदीबहिनीले नजिकबाट सेवा लिए निःशुल्क स्यानेटरी प्याडले महिनावारी स्वच्छता बुझाउने प्रयास गरेको छ । हेलो गर्भवती आमा कार्यक्रम पनि प्रत्येक महिनामा सेडुलै बनाएर स्वास्य संस्थामा चेकजाँच गर्न आउनेलाई सोधेको अवस्था छ । नगरपालिकाले सेफ हाउसको निर्माण गरेको छ । केही दिनमा कार्यविधि पास गरेर उद्घाटन गर्दैछौं । न्यायको प्रक्रियामा जाँदा पनि सुरक्षित बनाउन सकियोस् भनेर सेफ हाउस निर्माण गरिएको हो । बालमैत्री र वातावरणमैत्री नपा घोषणाका लागि प्रक्रिया अघि बढेको छ ।
निःशुल्क एम्बुलेन्स सेवा, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको घरदैलो गरेर निःशुल्क चेकजाँच, नगर अस्पतालबाट पनि सुत्केरी पोषणका धेरै कार्यक्रम लागू गरिएको छ । करिब ९०० जना अति विपन्न नागरिकको को निशुल्क स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्यमा सबैको पहुँच पु¥याउने यस्ता कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय पाठ्यक्रमबारे पढाउन थालेपछि विद्यार्थीले स्थानीय तहबारे जानकारी पाउने, हाम्रो सम्भावना, सरकार गठनको प्रक्रिया, बुझ्ने काम कर्तव्य, नागरिक र सरकारले के गर्नुपर्छ । फेहरिस्त भन्न सक्ने भएका छन् । शिक्षिका भएका बेला सुत्केरीले तीन महिना बिदा बस्दा उहाँको ठाउँमा पढाउन लागि सट्टा शिक्षकको व्यवस्था गरेका छौं । अनलाइन कक्षा र सिकाइ आदानप्रदान गरेर शिक्षालाई गुणस्तरीय बनाउन प्रयास गरिरहेका छौं ।
जलवायुमैत्री विकास
जलवायु परिवर्तनले विश्वलाई नै पारेको प्रभाव छ । जलवायुमैत्री विकासको कुरालाई अवलम्बन गरिरहेका छौं । हाम्रा कृषि, पशुपालन व्यवस्थापनका कुरामा यी कुरा उठाउँछौं । कृषिलाई अर्गानिक बनाउने, फलफुल उत्पादनमा जोड दिने, आयात घटाउने, जतिपनि निर्माण भएका सडक आसपासमा विरुवा लगाउने, वातावरणमैत्री सहरको विकास गर्ने भनेर वडा नं ८ मा सुरु गर्दैछौं । वडा नं ५ घोषणा भइसकेको छ । त्यस्तै हरित सहर निर्माण हाम्रो नियमित चलिरहेको कार्यक्रम हो । गुलमोहर अढाई तीन वर्षमै फुलिइरहेको देखिन्छ । गत सालसम्म साढे सात हजार विरुवा रोड साइडमा लगाएका छौं । यसलाई अहिले पनि निरन्तरता दिएका छौं । मंगलगढी कांक्रेविहार सडकमा पनि रोपिएको छ ।
हामीले भुउपयोग नीति, सडक गुरुयोजना बनाएका छौं । त्यही योजना अनुसार निर्माण संरचना बनाउने गरिएको छ । खोला किनारमा संरचना बनाउँदा दायाँ–बायाँ ६ मिटर भाग छाडेर संरचना निर्माण गर्ने कुरामा कडाइ गरिएको छ । नक्सा पास गर्दा त्यसलाई ख्याल गर्ने गरिएको छ । मालपोत र नापी कार्यालयले पनि वीरेन्द्रनगरको यो नीतिलाई लागू गरेको अवस्था छ । यसले गर्दा बस्ती विकासलाई सहज भएको छ । पुरानो घडेरीका लागि ८ मिटरको सडक र नयाँ घडेरीका लागि १० मिटरको सडक अनिवार्य हुनुपर्ने नीति बनाइएको छ । बस्तीमा बाटो ठूलो बनाउँदा दमकल, एम्बुलेन्स, खानेपानी व्यवथित गर्न सजिलो हुन्छ भन्ने स्थानीयको बुझाईले सकारात्मक सन्देश दिएको छ ।
उपमहानगरको पखाई
कर्णाली प्रदेशमा एउटा पनि उपमहानगरपालिका छैन् । यहाँ उपमहानगर घोषणाका लागि पर्याप्त मापदण्ड छन् । जनसंख्या, राजस्व, यातायातको मापदण्ड पुग्छ । साथै विश्वविद्यालय, प्रदेश अस्पताल, रंगशालाजस्ता ठूला पूर्वाधारहरु छन् । २०७३ सालमा घोषणा गर्दा कतिपय स्थानीय तहका मापदण्ड नपुगेपनि भविष्यमा पुग्छ भनेर घोषणा गरिएको थियो । त्यतिबेला यसलाई उपमहानगर घोषणा गरिएन । अहिले सबै मापदण्ड हामीले पुरा गरेको अवस्था छ । यो प्रदेश राजधानी पनि हो । हामीले प्रदेश सरकारलाई उपमहानगर घोषणाका लागि सबै मापदण्ड पुरा गरेको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएका छौं । प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउनुपर्छ । नगरपालिका स्थापना भएको ४९ वर्षमा हामी स्तरोन्नति गर्ने प्रक्रियामा पुगेका छौं । संघीय सरकारले निर्णय गर्न बाँकी छ । वीरेन्द्रनगर पश्चिम नेपालकै सम्भावना भएको सहर हो । विकासको राम्रो लय समाएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार त हो नै । मदन भण्डारी राजमार्ग बनेपछि दाङ घोराही पाँच घण्टा पुगिन्छ । पश्चिम सुर्खेतबाटै चिसापानी पुग्न सकिन्छ । मदन भण्डारी राजमार्ग भएर रात्रिबस यहाँबाटै पूर्व पश्चिम जाने अवस्था छ ।