कांक्रेविहार : कसले बनायो होला ?

सुर्खेत– सुर्खेत उपत्यकाको मध्यभागमा अग्लो स्थान जहाँ १७५ हेक्टर क्षेत्रफलमा घना जंगल फैलिएको छ । जंगलभित्र हजारौं वर्ष पुरानो पुरातात्विक सम्पदा कांक्रेविहार अवस्थित रहेकै कारण यसैबाट वन क्षेत्रको नामकरण गरिएको हो ।

वर्षौंसम्म भग्नावशेष रहेको कांक्रेविहारको पुनर्निर्माणपछि आर्कषक एवं हेर्नलायक ठाउँ बन्न पुगेको छ । कर्णाली प्रदेशकै प्रमुख गन्तव्यमा पर्ने कांक्रेविहार कहिले बन्यो, कहिले भत्कियो, कसरी भत्कियो भन्ने रहस्यमै छ । पुरातत्व विभागले भग्नावशेष उत्खनन् गर्दासमेत यससम्बन्धी कुनै प्रमाण फेला परेनन् । पुरातत्वविद् र अनुसन्धानकर्ताहरुले लामो अन्वेषण गर्दासमेत कसरी भत्कियो भन्नेमा वास्तविक तथ्य फेला परेको छैन् । कसैले भूकम्पका कारण त कसैले मुसलमान राजा, हिन्दु राजाको आक्रमणबाट भत्किएको दाबी गर्ने गरेका छन् । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन् । यति मात्र होइन, यहाँ मन्दिर, विहार, दरबार वा अरु केही थियो भन्ने तथ्यगत प्रमाण छैन् ।

कांक्रेविहार पुरातात्विक स्थलको २०५७ देखि भग्नावशेष उत्खनन् र २०७२ सालदेखि पुनर्निर्माणको काम थालिएको थियो । ८ करोड १८ लाख रुपैयाँ लागतमा पुरानै शिखर शैलीमा यसको पुनर्निर्माण भएको हो । भग्नावशेषबाट ठूल्ठूला कलात्मक ढुङ्गा उत्खनन् गरिएको थियो । ती ढुंगाहरुमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका आकृति कुँदिएका छन् । भक्तपुरबाट झिकाइएका मूर्तिकार र कालीगढको समूहबाट जंगलमा यत्रतत्र छरिएका कलात्मक ढुंगालाई जोडेर झण्डै २२ फिट अग्लो विहारको पुनर्निर्माण गरिएको हो । पुरातात्विक खण्डहर उत्खनन् गर्दा यहाँ दुई हजार बढी ढुंगा फेला परेका थिए । लेउ लागेका, जमिनमूनी गाडिएका ढुंगालाई सफा गरेर कांक्रेविहारमा जोडिएको छ । अझैं कतिपय अचम्मका कला आकृति भएका ढुंगाहरु त्यही छरिएकै अवस्थामा छन् ।

तत्कालीन सिञ्जा (जुम्ला) राज्यका राजा अशोक चल्लको पालामा १३२५ तिर कांक्रेविहार बनेको अनुमान छ । उनी विसं १३१२ देखि १३३५ सम्म सिञ्जाका राजा थिए । इतिहासकार डा. सूर्यमणि अधिकारीको पुस्तक ‘खस साम्राज्यको इतिहास’ मा काँक्रेविहार विसं १८९० भूकम्पमा ढलेको उल्लेख छ । तर यो दाबीमा अन्य अध्येता र इतिहासकारहरु सहमत छैनन् । ‘पुराना लिखत पत्र नभईकन १८९० को भूकम्पमा ढलेको दाबी गर्न सकिँदैन्, भूकम्पले क्षति भएको भए कतै न कतै कुनै अभिलेख भेटिन्थ्यो, त्यतिबेला पत्रचार, उर्दी आदेश, लालमोहर पद्धतिको विकास भइसकेको थियो,’ कर्णाली सम्पदाका अध्येता जुम्ला तातोपानी गाउँपालिका निवासी माधव चौलागाई भन्छन्, ‘बरु विसं १५६२ को महाभूकम्पका कारण भत्किएको हुनसक्छ, युद्ध वा आक्रमणबाट भए ढुंगाहरु त्यति टाढा उछिट्टिने थिएनन्, प्रकृति हेर्दा भूकम्पमा ढलेको जस्तो देखिन्छ ।’ उनका अनुसार विसं १५६२ को डोल्पाको साल्दाङ्ग केन्द्रबिन्द भएर गएको ८.२ रेक्टर स्कूलको भूकम्प गएको थियो । यसलाई भारतीय उपमहाद्धिप क्षेत्रमा गएको अहिलेसम्मकै ठूलो भूकम्प मानिएको छ । कांक्रेविहार निर्माण खस राजाकै पालामा हुनसक्ने उनको ठम्याई छ । ‘त्यतिबेला ठूल्ठूला ढुंगा कुँदेर देवल, गढीजस्ता संरचनाहरु बनाउने टे«न्ड थियो,’ चौलागाई भन्छन् ।

अधिकांश अध्येताहरुले इतिहासकार डा सूर्यमणि अधिकारी, योगी नरहरिनाथ र विश्व केसीका पुस्तकलाई आधार मान्ने गरेका छन् । बुद्ध धर्म संस्कृतिका जानकारहरु पुरातत्व विभागले स्थानीयबासीको रोहबरमा उत्खनन् नगर्नुलाई कमजोरी ठान्छन् । उत्खनन् गर्दा केही तथ्य भेटिएन । यस हिसाबले झन् रहस्यमय भयो । पछिल्लोपटक बुद्ध विहारलाई जबरजस्ती हिन्दु मन्दिरमा परिणत गर्दै इतिहासको तोडमोड गर्ने गरिएको बौद्ध धर्मावलम्बीहरुको दाबी छ ।यहाँ बुद्धका विभिन्न आसनका आकृतिहरु छन् । बुद्ध धर्मका अभियन्ता शाक्यका अनुसार खस राज्यमा बौद्ध धर्म उत्कर्षमा थियो । राजा क्रचल्ल र अशोक चल्लको पालामा यो धेरै फैलिएको थियो । जगद्गुरु शंकराचार्यले बुद्ध धर्मलाई निस्तेज पार्न बौद्ध गुम्बा, विहार, स्तुपाहरु नष्ट गर्दै भारतबाट यही बाटो भएर तिब्बत प्रस्थान गरेको र जुम्लाको गुम्बालाई दत्तात्रयको मन्दिरमा परिणत गरेको सुर्खेत लाटीकोइली निवासी स्वर्गीय जीवनकुमार शाक्य लिखित  ‘सुर्खेतः एक चिनारी’ पुस्तकमा उल्लेख छ । स्वर्गीय शाक्यको तर्क थियो,  ‘यदि मुसलमानको आक्रमणमा परेको भए हिन्दुका अरु संरचनाहरुमा पनि क्षति पुग्थ्यो होला, त्यस्तो अरु केही देखिन्न् ।’ कुनै बौद्ध राजाले आफू सुरक्षित हुन विहार बनाएर बसेको हुन सक्ने शाक्यको अनुमान थियो ।

कांक्रेविहारमा हिन्दु र बौद्ध धर्म संस्कृतिसम्बन्धी आकृतिहरु हुँदा धेरैले दुवै धर्मको आस्थाको केन्द्रका रुपमा अथ्र्याउने गर्छन् । कतिपयले दोस्रो लुम्बिनीको उपमा समेत दिने गरेका छन् । विभिन्न आकृतिमा कुँदिएका ढुङ्गाहरूले बनेको हुनाले पनि काँक्रेविहार कर्णाली घुम्न आउनेहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । यो हेर्न बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । जंगलको बीचमा ठिङ्ग उभिएको अनौठो प्रकारको सम्पदाले आगन्तुक मुग्ध पार्ने गरेको छ ।

पुनर्निर्माणपछि कर्णाली आउने हरेक विशिष्ट व्यक्तिका साथै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँ पर्ने गरेको छ । वीरेन्द्रनगर नगरपालिका ९ का अध्यक्ष ऋषि गिरी कलात्मक ढुंगैढुंगा जोडेर बनेकाले यसले धेरैको मन लोभ्याउने गरेको बताउँछन् । ‘कांक्रेविहार भव्य र सुन्दर सम्पदा हो, यसको महत्व धेरै छ,’ उनी भन्छन्, ‘ऐतिहासिक तथ्यहरुमा एकमत नभएपनि यसको संरक्षण, संर्वद्धन एवं प्रर्वद्धनमा स्थानीय हिन्दु, बौद्ध धर्मावलम्बीहरुबीच आपसी सहिष्णुताको भावना जागृत भएको छ ।’ यसको रेखदेख वडा कार्यालयले गर्दै आएको छ । थप आर्कषणका लागि कांक्रेविहार परिसरमा घोडा चढ्ने व्यवस्था मिलाइएको छ । पहिले भग्नावशेष देखेकाहरु पुनर्निर्माणपछि दंग परेर फर्किने गरेका छन् । हेर्न आउने सबैको मनमा उस्तै–उस्तै जिज्ञासा हुन्छ । कसले बनायो होला ? कसरी–किन बनाए होलान् ? किन–कसरी भत्कियो होला ? र यिनै अनुत्तरित प्रश्नलाई रहस्यको गर्भमै राखेर घना जंगलको बीचमा एक्लै ठिङ्ग उभिएको छ, कांक्रेविहार ।