सुर्खेत– भूकम्पले धनजनको ठूलो क्षति र जनजीवन अस्तव्यस्त बनाइरहँदा शनिबार बिहानसम्म सरकारी अधिकारीहरु अलमलमै थिए । जब ठूलो संख्यामा मानिस हताहती भएको खबर आयो तब मात्र केन्द्र र कर्णाली प्रदेश सरकार तातिए ।
सरकारले उद्धार कार्य शुरु गरेसंगै काठमाडौं र नेपालगञ्जबाट वरिष्ठ डर्माटोलोजिष्ट डा. रुपक घिमिरेको टिम भने तुरुन्त एक्सनमा उत्रिएर जाजरकोट पुग्यो । जाजरकोटको सदरमुकाम खलंगा पनि भूकम्प प्रभावित भएपनि उनीहरु भने सिधै नलगाड नगरपालिका पुगेर राहत, उद्धार र उपचारमा सक्रिय भए ।
नलगाड नगरपालिकामा ५० थान ओढ्ने कम्मल, २५ किलो फलफुल २०० जनालाई पुग्ने अत्यावश्यक औषधीहरु, १५ कार्टुन रियल जुस, चाउचाउ, विस्कुट जस्ता तयारी खानाहरु वितरण गरे । डा. घिमिरेले आफ्नो व्यक्तिगत खर्चमा एम्बुलेन्स समेत भाडामा लिएर पठाएका थिए । शुक्रबार राती भुकम्प गएपछि शनिबार र आइतबार हेल्थ क्याम्प समेत सञ्चालनमा ल्याएका थिए । उनकै टिमका सदस्य डा. बिक्कीकुमार पटेलले पराहतको रकम थोरै देखिएता पनि तुरुन्त एक्सनमा गएको कारण पीडितहरु केही हदसम्म राहत महसुस गरेको बताए ।
डा. घिमिरे नेपाल मेडिकल काउन्सिलका सक्रिय सदस्य हुन् । काठमाडौँमा थुप्रै डाक्टरहरु छन् तर टेलिभिजन र पत्रिकामा बोलेर प्रभावित क्षेत्रको दुख कम हुँदैन । ठाउँमै तुरुन्त पुगेर एक्सन लगिहाल्ने उनी समाजका एक उदाहारण पात्र हुन् नेपालगञ्जबाट आएका उनको टिमका अर्का सदस्य डा राहुल कुर्मी भन्छन् । डा रुपक घिमिरेसंगै काठमाडौंबाट डा बिक्कीकुमार पटेल, नेपालगञ्जबाट डा राहुल कुर्मी, डा सुवास जी, डा नुतन आचार्य शनिबार जाजरकोट आएका थिए ।
शुक्रबार राती ११ः ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा १५३ जनाको मृत्यु र २५० भन्दा बढी घाइते भएका छन् ।
कर्णाली समय । २२ कार्तिक २०८०, बुधबार २०:०९