सुर्खेत– संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियूसीसी) कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा एकदिने प्रदेशस्तरीय श्रमिक महिला सेचना कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश संयोजक तथा जिफन्ट प्रदेश कमिटी अध्यक्ष तेजप्रकाश जिसीको अध्यक्षतामा विहीबार सञ्चालन भएको कार्यक्रममा महिला हिंसा, लैंगिक समानता र ट्रेड युनियन आन्दोलनमा महिला सहभागिताबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा जेटियूसीसी महिला समिति पूर्व अध्यक्ष, जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा महिला प्रमुख सीता लामा र जेटियूसीसी महिला समिति सदस्य तथा टुकोन महिला प्रमुख कर्मा डोल्कर गुरुङले प्रशिक्षण दिए । प्रशिक्षक लामाले कोरा महिलावाद होइन, वर्गीय सोच सहितको महिलावादको एजेण्डालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन् । उनले जेण्डर समानताको आन्दोलन पूरुषविरुद्ध होइन, पितृसत्ता विरुद्ध हो भन्ने धारणाबाट श्रमिक महिलाहरु जुर्मुराउनुपर्ने उत्प्रेरणा दिइन् ।
अर्का प्रशिक्षक गुरुङले कार्यथलोमा हुने महिला हिंसाका स्वरुपहरु फेरिदै गएकाले यसविरुद्ध सचेत भई मर्यादित असल श्रम सम्बन्ध विकासमा महिलाहरु सचेत हुनुपर्ने बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक जिसीले सामाजिक बनोट, मान्यता, परम्परा, धर्म, संस्कृति, पेशा र रोजगारका आधारमा हुने लैंिगक विभेदलाई न्यूनिकरण गर्न र समतामूलक समाज रुपान्तरणमा श्रमिक महिलाहरु सेचत भई लाग्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा जेटियूसीसीसँग आवद्ध सात वटा महासंघका ३५ जनाको महिला नेतृत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनडिफन्टका केन्द्रीय सचिव सन्तोषकुमार राईको समेत सहभागिता रहेको थियो ।

कर्णाली समय । २१ भाद्र २०८०, बिहीबार ११:५०