सुर्खेत–सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ६ सुर्खेले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता शिविर सञ्चालन गरेको छ ।
सहकारीले पञ्चपुरी नगरपालिकाको बाबियाचौर, बराहतालको बड्डीचौर, भेरीगंगाको बारागाउँ, लेकवेसी नगरपालिकाको कल्याण, दशरथपुर, गुर्भाकोट नगरपालिकाको बोटेचौर र वीेरेन्द्रनगर नगरपालिका सोतखोलामा सप्ताहव्यापी साक्षरता शिविर मंगलबार सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष टोपबहादुर टंलामीको अध्यक्षता एवं संस्थाका सल्लाहकार बिमा थापाको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो ।
सहकारी शिक्षा शिविरमा सहकारीका गतिविधि तथा आगामी योजनाका बारेमा संस्थाका कोषाध्यक्ष डम्मरबहादुर गरञ्जा मगरले जानकारी गराएका थिए । सहकारी र चिया तथा कफी विकास कार्यालय प्युठानको सहलगानीमा ५० रोपनीमा सोतखोलामा शेयर सदस्यहरुलाई ५ हजार विरुवा कफिको विरुवा लगाई सदस्यहरुलाई व्यवसायिक कफीखेती शुभारम्भ गरिएको छ । कोषाध्यक्ष गरञ्जा मगरले शेयर सदस्यहरुलाई विभिन्न तरकारीका बेर्नाहरु सहुलियतमा वितरण गर्ने योजना रहेको बताए ।
सहकारीले बोटेचौर सेवा केन्द्र, लेकवेसी सेवा केन्द्र, चनौटे सेवा केन्द्र, बराहताल सेवा केन्द्र र पञ्चपुरी सेवा केन्द्रबाट सदस्यहरुलाई आइएमई सेवा थप व्यवस्थित र विस्तार गरी सहकारीका गतिविधि समेत सञ्चालन गर्नुका साथै पूर्ण रुपमा अनलाईनबाट सहकारीका कारोवारहरु संञ्चालन गर्ने जनाएको छ । ५३३२ जना सेयर सदस्य रहेको सहकारीको शेयर पुजी ६ करोड ७५ लाख जगेडा कोष ४ करोड ३१ लाख गत आर्थिक वर्षमा करिब ३ अरव २५ करोड कारोवार गर्न सफल भएको छ ।
सहकारीका व्यवस्थापक खड्कबहादुर वंशीमगरका अनुसार निक्षेप ५८ करोड ५० लाख संकलन, लगानी ऋण ८९ करोड ३१ लाख रुपैया रहेको छ । सेयर सदस्यहरुलाई धितोको आधारमा ७५ लाखसम्म ऋण लगानी गदै आईरहेको छ । सहकारी शिविरमा संस्थाका सल्लाकार बिमा थापाले विरेन्द्रनगरमा स्थापना भएको सहकारीले आफ्ना शेयर सदस्यहरुलाई वार्षिक मुनाफा पनि राम्रै वितरण गरेको उत्कृष्ट सहकारी संस्था रहेको बताउँदै जेष्ठ सदस्य सम्मान, जटिल प्रकृतिका रोगहरु लागेमा उपचारमा सहयोग लगायत जनपक्षीय कार्य गरेको प्रति प्रशंसा व्यक्त गरिन् ।
कार्यक्रममा सहकारीका निमित्त सचिव खगेन्द्रबहादुर पुलामीले सहकारीबाट उत्कृष्ट बचत उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी, पुर्व संचालक तथा लेखा समितिलाई सम्मान गरिदै आएको जानकारी दिए । सहकारीबाट सुत्केरी पोषण राहत, शैक्षिक छात्रवृत्ति कार्यक्रम, मृत्यु राहत, दुर्घटना राहत दैवी प्रकोप तथा प्राकृतिक प्रकोप राहत कार्यविधि निर्माण गरि वितरण गरिदै आएको छ ।
कर्णाली समय । १२ असार २०८०, मंगलवार १७:२७