‘नेपाली खेलकूदको वृतान्त’ पुस्तक आउँदै

सुर्खेत– नेपाली खेलकुदको पदकयात्रा समेटिएको पुस्तक नेपाली खेलकुदको वृत्तान्त असार अन्तिम साता बजारमा आउने भएको छ । नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खेल पत्रकार नवीन अर्यालको पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो ।


क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा लेखिएको पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको जानकारी दिए । ‘पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ’ क्रियटिभ बुक्सद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सीमित साधन स्रोतकाबीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।’

ऐतिहासिक तस्वीरहरू, चिट्ठीपत्र र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउने तथा नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि उपयोगी महत्वपूर्ण दस्तावेज बन्ने प्रकाशकको दाबी छ । क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपूर्ण सामग्री बन्न सक्ने बताए ।

क्रियटिभ बुक्सले यसअघि पनि खेलसम्बन्धी पुस्तकहरू प्रकाशन गर्दै आएको छ । भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियन, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ ।