
सुर्खेत– आफ्नै आँगनमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन वीरेन्द्रनगर नगरपालिकाले विभिन्न तयारी अघि बढाएको छ । प्रतियोगितामा सहभागी खेलाडी, अतिथि तथा दर्शकको स्वागत, सहरको सौन्दर्यीकरण, सरसफाइ, सडक व्यवस्थापन र पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले तयारी थालेको छ ।
नगर प्रमुख मोहनमाया ढकालको उपस्थितिमा नगर उपप्रमुख निलकण्ठ खनालको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद व्यवस्थापन सहजीकरण समितिको बैठकले प्रतियोगिता लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले प्रतियोगितालाई अवसरका रूपमा उपयोग गर्दै वीरेन्द्रनगरको सकारात्मक पहिचान स्थापित गर्ने उद्देश्यले स्वागतद्वार निर्माणदेखि सहरका मुख्य सडक तथा बजार क्षेत्रको सरसफाइ र सौन्दर्यीकरणसम्मका कार्यक्रम तय गरेको छ ।
राष्ट्रिय खेलकुद व्यवस्थापन सहजीकरण समितिका सदस्य सचिव प्रकाश पौडेलका अनुसार वीरेन्द्रनगर प्रवेश गर्ने घुलियाबिट, विमानस्थल, मंगलगढी आकाशेपुल र घण्टाघर क्षेत्रमा स्वागतद्वार निर्माण गरिनेछ । खेलकुद हुने तथा बजार क्षेत्रका सडक, नगरभित्रका सार्वजनिक पार्क र सम्पदाहरूमा विशेष सरसफाइ अभियान सञ्चालन गरिनेछ । यसका लागि वडा कार्यालयको नेतृत्वमा सुरक्षाकर्मी, स्थानीय टोल संस्था, विद्यालय तथा कलेजको सहयोग लिइनेछ । विद्यालयलाई कम्तीमा ३०० मिटर क्षेत्रको सार्वजनिक स्थल सरसफाइ तथा जनचेतना अभियान सञ्चालन गर्न परिचालन गरिने निर्णय भएको छ । सरसफाइका क्रममा संकलित फोहोर व्यवस्थापनका लागि नगरपालिकाले डोको र डस्टबिनको व्यवस्था गर्नेछ ।
नगरपालिकाले वडा नं. ६, ७ र ८ का सडक किनारमा रहेका जोखिमयुक्त र लत्रिएका बिजुलीका तार हटाउने तथा आवश्यक स्थानमा रङरोगन गर्ने निर्णय पनि गरेको छ । यसका लागि सम्बन्धित जिन्सी उपशाखाले आवश्यक पेन्टिङ सामग्रीको व्यवस्थापन गर्नेछ । खेलाडी तथा पाहुनालाई वीरेन्द्रनगरको पर्यटनबारे जानकारी दिन पर्यटन ब्रोसरसमेत छपाइ गरिने भएको छ । राष्ट्रिय खेलकुदलाई लक्षित गरी नगरपालिकाले यसअघि छपाइ गरेको पर्यटन ब्रोसर पाँच हजार प्रति थप छपाइ गर्ने निर्णय गरेको छ । साथै, घण्टाघर डबलीमा ‘वीरेन्द्रनगर’ अंकित धातुको फोटो स्पट निर्माण गरी पाहुनालाई तस्बिर खिच्ने अवसर प्रदान गरिनेछ ।
कर्णालीको पर्यटन प्रर्वद्धनका लागि वीरेन्द्रनगरका तीनसहित कर्णालीका १० वटै जिल्लाका कम्तीमा एक–एक प्रमुख पर्यटकीय स्थलको तस्बिरसहितको फोटो कम्पाउन्ड बनाइनेछ । प्रमुख पर्यटकीय स्थल छनोट तथा तस्बिरका लागि कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने र आर्टिस्टमार्फत चित्र बनाउने व्यवस्था मिलाइने भएको छ । सहरको सडक तथा बजार क्षेत्रलाई व्यवस्थित बनाउन फुटपाथ व्यवस्थापन अभियान पनि सञ्चालन गरिनेछ । वडा नं. ६, ७, ८ र ९ का मुख्य सडक, घण्टाघर चोकदेखि नगरपालिका कार्यालय जाने सडक तथा बजार क्षेत्र र रत्नराजमार्गको पिपिरा चोकदेखि उत्तरगंगा मन्दिर जाने चोकसम्म फुटपाथमा व्यापार गर्न निषेध गरिनेछ । यसका लागि जनपथ प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरिनेछ । फुटपाथमा राखिएका व्यावसायिक टहरा तथा निर्माण सामग्री तीन दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गर्ने र अटेर गरेमा नियमानुसार जरिवाना गरिने भएको छ ।
सडक उज्यालो कार्यक्रमअन्तर्गत नगरका मुख्य चोकमा रहेका हाइमास्ट लाइटलाई प्राविधिक जनशक्ति तथा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी मर्मत गर्ने र थप बजेट आवश्यक परे लागत अनुमानसहित पेस गर्ने निर्णय भएको छ । सडकबत्ती जडानका लागि आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने तथा उद्घाटन अघि नै सडक उज्यालो बनाउने तयारी पनि गरिएको छ ।
प्रतियोगिता अवधिमा नगरपालिकाका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई ब्याज र पञ्चेबाजासहित स्वागत कार्यक्रममा सहभागी गराउने निर्णयसमेत गरिएको छ ।
नगरपालिकाले उपप्रमुख निलकण्ठ खनालको संयोजकत्वमा गठित सहजीकरण समितिमा वरिष्ठ उपसचिव धिरेन्द्रप्रसाद शर्मा, वडाध्यक्षहरु जनक रावल, ध्रुव चपाई टीकाराम शर्मा, ऋषि गिरी, वरिष्ठ इन्जिनियर यज्ञबहादुर कार्की, प्रशासकीय अधिकृत खड्कबहादुर केसी र योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेललाई सदस्य सचिवको जिम्मेवारी तोकेको छ ।
नगरपालिकाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित वडा तथा शाखालाई जिम्मेवारी तोक्दै आवश्यक प्रारम्भिक स्रोत अनुमानसहितको योजना तथा कार्यक्रम मंसिर २ गते दिउँसो ३ बजेभित्र पेस गर्न निर्देशन दिएको छ । सबै शाखाका प्रस्ताव एकीकृत गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्ने र स्वीकृतिअनुसार प्रगतिको विवरण समितिसमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ ।



कर्णाली समय । ३ मंसिर २०८३, बुधबार १६:३६