क्षेत्र जोगाउने दौडधुपमा पाँच अर्थमन्त्री: मयुर नाच्दै, मतदाता फकाउँदै!

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो क्षेत्र जोगाउन पाँच जना वर्तमान तथा पूर्व अर्थमन्त्रीको अन्तिम दौडधुप चलिरहेको छ। रुकुम पश्चिम, सुनसरी, चितवन, रुपन्देही र रोल्पामा वर्तमान तथा पूर्व अर्थमन्त्रीहरु मतदाता फकाउन गाउँ-घरमा व्यस्त छन्।

मयुर नाँचेर मतदाता फकाउँदै जनार्दन
माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा उम्मेदवार छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनी यसअघि पनि उक्त क्षेत्रमा उम्मेदवार भएर निर्वाचित भएका थिए।

सत्ता गठबन्धनको बलियो साथ पाएर पनि ढुक्क हुन नसकेका उनी आफ्नो प्रभाव भत्किने डरले मयुर नाच नाचेर मतदाता फकाइरहेका छन्। उनको मयुर नाचको चर्चा देशैभर भएको छ।

उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका नन्दराम देवकोटा उम्मेदवार छन्। माओवादी युद्धको उद्गमस्थल मानिने रुकुम माओवादीको राम्रै प्रभाव क्षेत्र मानिन्छ।

बिरासत जोगाउने दौडमा पाण्डे
एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पाण्डे आफ्नो निर्वाचन क्षेत्र जोगाउन घरदैलोमा व्यस्त छन्।

चितवन–१ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका पाण्डेलाई सत्ता गठबन्धनदेखि स्वतन्त्रसम्मको चुनौती छ। यो चुनाैती चिर्न उनी मतदाताको घर–आँगनमा दौडिरहेका छन्। पाण्डेले २०७४ को निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट जितेका थिए।

पाण्डेलाई यस पटक कांग्रेसका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्व पौडेलले चुनौती दिइरहेका छन्। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पौडेललाई साथ दिएका छन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल पनि प्रतिस्पर्धामा छन्। उनी पनि आक्रामक प्रचारमा लागेका छन्। उक्त क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धनको मत जोगाउने दौडमा कार्की
पूर्व अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी– ४ बाट दोस्रो पटक प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता कार्कीको प्रतिस्पर्धा नेकपा एमालेका जगदीशप्रसाद कुसियतसँग हुँदैछ।

आफ्नो जित सुनिश्चित गर्नका लागि कार्की यतिबेला मतदाताका घरदैलोमा पुगिरहेका छन्।

दौडधुपमा पौडेल
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि आफूनो जित सुनिश्चित गर्न लागिपरेका छन्। रुपन्देही–२ मा पौडेलको प्रतिस्पर्धीको रुपमा केशवबहादुर थापा मगर रहेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदार राजु गुरुङको उम्मेदवारी नै खारेज भएपछि गठबन्धनले मगरलाई सहयोग गरेको छ। पौडेलले यसै निर्वाचन क्षेत्रबाट २०७४ मा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी आफ्नो क्षेत्रको विभिन्न ठाउँमा गएर मत मागिरहेका छन्।

पुनः जितको खोजीमा पुन
माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन पनि आफ्नो जित निश्चित गर्नका लागि निर्वाचन क्षेत्रमा सक्रिय भएर लागिपरेका छन्। रोल्पाबाट निर्वाचन लडेका पुनलाई सत्ता गठबन्धनको साथ छ।

उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका नेता पूर्ण बुढामगर छन्। पुन २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी भएका थिए। अहिले पुन: जित निकाल्ने दौडधुपमा छन् उनी।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,