प्रकाश अधिकारी
सुर्खेत– सुगौली सन्धिमा गुमेका पश्चिम नेपालका ४ जिल्लाहरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भुभागलाई विसं १९१७ मा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले फिर्ता ल्याए । फिर्ता आएपछि यो भूमिलाई ‘नयाँ मुलुक’ भन्न थालियो । ‘नयाँ मुलुक’ नेपालले फिर्ता पाउनु अघिसम्म नेपालगञ्ज शक्तिशाली राज्य अवधको एउटा हिस्सा थियो, जहाँ उर्दू भाषाको जन्म र विकास भयो । त्यही उर्दू भाषा अहिले नेपालगञ्जका शायरहरुको अभिव्यक्तिको माध्यम बन्न पुगेको छ । उर्दू भाषा साहित्यको श्रीवृद्धिमा अनवरत क्रियाशिल एक शिखर व्यक्तित्व हुन, अब्दुल लतिफ ‘शौक’ ।
नेपालगञ्जको इदगाह रोडमा पिता कुर्वान अली जसगढ र माता आमना जसगढको कोखबाट १९९५ पुस ८ गते जन्मिएका ‘शौक’को खास नाम लतिफ जसगढ हो । साहित्यमा रुची भएका कारण उनले युवावयदेखि वास्तविक थरको ठाउँमा ‘शौक’ लेखे । उर्दू भाषामा ‘शौक’को अर्थ ‘पे्रम’ हुन्छ । खासमा उनी सुनचाँदीका कालीगढ हुन । यो उनको पुख्र्यौली पेशा हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ विपी चोकको पूर्वपट्टीको पुख्र्यौली घरमा बसेर उनी उर्दू शायरीहरु कोर्दै आएका छन् ।
सुनचाँदीको कालीगढको काममा अब्दुल लतिफ नेपालगञ्जका साँघुरा गल्लीभित्र खुम्चिएपनि साहित्यिक कर्ममा भने ‘शौक’ समुन्द्रझैं फैलिएका छन् । निरन्तरको साधनाबाट ‘शौक’ नेपालको सबैभन्दा ठूलो उर्दू गजलकारको परिचय बनाउन सफल भएका छन् । नेपालगञ्जमा आयोजना हुने हरेक साहित्यिक कार्यक्रमहरु ‘शौक’को गजलबिना खल्लो हुन्छन् । उनका गजलहरु श्रोतालाई सुनिरहुँ लाग्छन् । उनी नेपाली, उर्दू, अवधी र हिन्दी भाषामा गजल रच्न र वाचनमा पोख्त भइसकेका छन् । शौक भन्छन्, ‘विशेषगरी उर्दू भाषामै लेख्ने गरेको छु, अन्य बुझ्न सजिलो होला भनेर हिन्दी र नेपाली भाषामा पनि उल्था गर्ने गर्दछु ।’
शौकको मातृभाषा अवधी हो । सायरी उर्दूमा लेख्छन् । ३०० बढी गजल शायरी लेखेर लोकप्रियता आर्जन गरेका उनलाई ‘उर्दू गजलको अल्लाह’, ‘गजलको बादशाह’ जस्ता नामले पुकारिन्छ । ५ दशकभन्दा लामो समयदेखि नेपालगञ्जका उर्दू गजलकारहरुको संस्था गुलजार ए अदबको नेतृत्व गर्दै आएका छन् । अवधी सांस्कृतिक प्रतिष्ठान, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान र भेरी साहित्य समाजमा पनि उनी लामो समय क्रियाशिल रहे । त्यसो त उर्दू गजलको चर्चा गर्दा त्यो चर्चाको ठूलो भाग नेपालगञ्जले ओगट्दछ । नेपालगञ्जको उर्दू गजल साहित्यको लामो र जीवन्त परम्परामा शौकको योगदान अग्रस्थानमा छ ।
उनका गजलहरु मायापे्रम, सामाजिक सद्भाव, राष्ट्रिय एकता र हित एवं समृद्धिको अभिव्यक्ति हुन । पहिलो संविधानसभाले नयाँ संविधान जारी गर्न सकिरहेको थिएन । संविधान जारी गर्न नसकी कार्यकाल सकिनै लागेको थियो, त्यतिबेला उनी गजलकृति ‘महकते जख्म’ (मगमगाइरहेका घाउहरु) प्रकाशनको तयारीमा थिए । ‘कणकणमा म खोजिरहेको छु,’ शीर्षकमा नेपालीमा लेखेको गजल यस्तो थियो,–
कणकणमा म खोजिरहेछु दाइ ! मेरो नेपाल कता छ ?
गाउँसहरमा हेरिरहेछु दाइ ! मेरो नेपाल कता छ ?
अनुहार सबै बेजानै छन्, अरु बाटो पनि अन्जानै छन्
देशैमा परदेशी भएछु दाइ ! मेरो नेपाल कता छ ?
डाँडाकाँडा, खोलानाला सबै सबै त यथावत छन्
आज ‘शौक’ सोधिरहेछ दाइ ! मेरो नेपाल कता छ ?
अचेल उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । भर्खरै आँखाको अपे्रसन गरेका छन् । तैपनि उर्दू सायरीको नशामा लिप्त छन् । प्रतिकूल स्वास्थ्यको प्रवाह नगरी उनी मुशायरा (शायरी र गजल वाचन गर्ने सभा) मा पुग्छन् । तन्नेरी जोशका साथ उर्दूदेखि नेपाली भाषामा गजल सायरीहरु वाचन गर्छन् । सबैबाट पाएको स्याबासीबाट फुर्कँदै उनी घरमा पुग्छन् । यो उनको पाँच दशक यता उनको दिनचर्या यसरी नै बितिरहेको छ ।
उर्दू भाषाको विस्तार गर्ने उनको रुची छ । अहिले यो लिपि लोप हुँदै गएको छ । आफ्नै खर्चमा गजल संग्रह छपाउने र वितरण गर्छन् । उनका लफ्जों के मोती (शब्दको मोती) सिसकने की सदा (रुने आवाज), ये है मेरी तलाश (उर्दू व्याकरण), मताए शौक (शौकको पुँजी), शारिक रब्दानी मेरी निहाग में प्रकाशित उर्दू गजल संग्रह हुन । उनका अरु थुपै्र शायरीका डायरीहरु अप्रकाशित छन् । पैसाको अभावले चाहेजति प्रकाशन गर्न सकेका छैनन् । नेपालमा उर्दू छपाइको सुविधा छैन् । भारत, पाकिस्तानका पत्र–पत्रिकामा यहाँका शायरहरुको खासै सम्पर्क छैन् । जसले गर्दा नेपालगञ्जको उर्दू गजल चौलिक्कादेखि फुलटेक्रा र बुलबुलियादेखि घरबारी टोलको सेरोफेरोमै रुमल्लिएको छ । ‘नेपालगञ्जमा मुशायराको वातावरण पहिलेजस्तो छैन्, नयाँ पुस्तालाई रुची छैन्, मनोरञ्जनका अनेक माध्यमको विकासले उर्दू गजल साहित्यमा पनि प्रभाव परेको छ,’ उनी भन्छन्, ‘हामी शायरहरु चिया पसल, मदरसा, मुसाफिरखाना र कोठे गोष्ठीकै दायरामा मुस्काइरहेका छौं, रमाइरहेका छौं ।’ यद्यपि, आमसञ्चार माध्यम र सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकासले नेपालगञ्जको उर्दू गजलले भने सानो ठूलो चर्चा अवश्य पाएको छ । उनी निम्तो पाएमा उर्दू गजल वाचन गर्न काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा पुग्छन् । त्यहाँ पनि उनले थुपै्रपटक शायर वाचन गरिसकेका छन् ।त्यस्तै विभिन्न फेष्टिबलहरुमा पुग्छन् ।
‘शौक’का पहिलो गुरु भारतीय गजलकार आरिफ हुन । उनकै पे्ररणाबाट २०१७ सालदेखि उर्दू गजल कोर्न थालेका हुन । २०२७ सालमा अर्का गुरु बासिफुल कादरीसंग भेट भयो । वास्तवमा सुनको कालीगढ शौकलाई गजलका शेरमा पोख्त गराएको कादरीले नै हो । २०५५ सालतिर त्रिभूवन विश्वविद्यालय, काठमाडौंमा उर्दू भाषा पढाउन प्राध्यापकको रुपमा पाकिस्तानबाट आएका प्रोफेसर अदुल रउफले प्रकाशित गरेको ‘नेपालमें उर्दू शायरी’ भन्ने पुस्तकमा नेपालगञ्जका उर्दू गजललाई पनि ठाउँ दिए । त्यसमा समेटिएको शौकको गजलको अंश यस्तो छ,–
कोई दुश्मन तो नहीँ दोस्त के घर से पहले
ये ख्याल आया कई बार सफर से पहले ।
कौन कहता है कि पत्थर का कोइ माल नही ?
तुम तराशो तो उसे दस्ते हनुर से पहले ।
वरिष्ठ उर्दू गजलकार ‘शौक’ले नेपाल प्रज्ञा प्रतिष्ठान (उर्दू मातृभाषा) पुरस्कार, उर्दू एकेडेमी नेपाल सम्मान, मध्यपश्चिमाञ्जल गजल प्रतिष्ठान, भेरी साहित्य समाज, पे्रमप्रकाश मल्ल मधुकर पुरस्कार लगायतका विभिन्न संस्थाबाट सम्मानित भइसकेका छन् । उर्दू गजल क्षेत्रमा आदरका साथ लिइने नाम हो, अब्दुल लतिफ शौक । नेपालको अल्पसंख्यक जातिका शिखर हस्ताक्षर ‘शौक’ नेपालगञ्जको परिचय हुन । उनको गजलबाट प्रभावित हुनेहरु अनेकौं नामले पुर्काछन् ।
उनकै सम्मानमा स्वर्गीय पे्रमप्रकाश मल्ल ‘मधुकर’ले लेखेका छन्,–
हिँडिरहँदा लाग्दछ मानौं गजल हिँडेझैं
क्या गजबको चाल शानदार शौक साहब ।
आभूषणमाथि आर्कषक बुट्टाहरुजस्तै
गजलमा नि लवजहरु तैयार शौक साहब ।


कर्णाली समय । २९ चैत्र २०७९, बुधबार २१:२९