सुर्खेत- बाल क्लब तथा बालसमूहमा आवद्ध भएर बालबालिकाका आवाज पहिचान, उठान र सुनुवाइका लागि लामो समयदेखि सक्रिय रहेका पूर्व सदस्यहरू संगठित भएका छन् । उनीहरूले बालअधिकार, सामाजिक न्याय र रूपान्तरणमुखी विकासका क्षेत्रमा योगदान गर्ने उद्देश्यले बाल क्लब पूर्व सदस्य सञ्जाल गठन गरेका हुन् ।

सुर्खेतमा सम्पन्न बाल क्लबका पूर्व सदस्यहरूको प्रथम भेलाले सञ्जाल गठन गर्दै आगामी दिनमा सहकार्य, समन्वय र साझेदारीका माध्यमबाट बालअधिकार तथा सामाजिक न्यायका सवालमा निरन्तर काम गर्ने प्रतिवद्धतासहित घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा बालविवाह, छाउपडी, समावेशी तथा गुणस्तरीय शिक्षा, बसाइँसराइ, अनलाइन सुरक्षा, लागुऔषध दुव्र्यसन, लैङ्गिक विभेद, प्रजनन स्वास्थ्य अधिकार, जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणलगायतका सवालमा पूर्व बालक्लब सदस्यहरूलाई संगठित गर्दै अभियान सञ्चालन गर्ने उल्लेख छ । बाल क्लबमा रहेर बालअधिकारका सवालमा काम गरेका युवाहरू अहिले देशका विभिन्न भूगोलमा रहेकाले उनीहरूको अनुभव, सीप र क्षमता एउटै संस्थागत संरचनामार्फत परिचालन गर्न सञ्जाल आवश्यक रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।
सञ्जालले बालअधिकार, सामाजिक न्याय र रूपान्तरणमुखी विकासका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने, सरकार, समुदाय तथा नागरिक समाजको क्षमता विकासका लागि सहकार्य र समन्वय गर्ने तथा बालबालिका र युवाको शिक्षा, सीप र उद्यम विकासका क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएको छ । सञ्जालका सदस्यहरूको आवश्यकता र समस्यामा आपसी सहयोग प्रणाली विकास गर्ने तथा सदस्यहरूको अनुसन्धान, सीप, क्षमता र अनुभवलाई अभिलेखीकरण र आदानप्रदान गर्दै समुदाय र देशको विकासमा योगदान पु¥याउने उद्देश्यसमेत राखिएको छ ।
सञ्जालले सदस्यतामा आधारित संगठन तथा नीति निर्माण प्रणाली अवलम्बन गर्ने जनाएको छ। सदस्यहरूको सीप, क्षमता र रुचिका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने, आत्मनिर्भरता विकास गर्ने, भौगोलिक, वैचारिक, सांस्कृतिक तथा विविधतालाई सम्मान गर्ने र अनुसन्धान, तथ्य तथा तथ्यांकमा आधारित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने कार्यप्रणाली घोषणापत्रमा समेटिएको छ ।
सञ्जालले सहकार्य, समन्वय र साझेदारीमा आधारित भएर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । भेलाले बालसमूहका पूर्व सदस्यहरूलाई सञ्जालमा सहभागी हुन प्रेरित गर्ने, सञ्जाललाई संस्थागत र सुदृढ बनाउन सहयोग गर्ने तथा बाल संरक्षण र उत्तरदायित्वसँग सम्बन्धित सरकारी संरचनाको सुदृढीकरणमा निरन्तर सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भूगोल, विचार, संस्कृति, अनुभव र विविधताको सम्मान गर्दै सञ्जाललाई गैरराजनीतिक तथा धार्मिक रूपमा तटस्थ राख्ने प्रतिबद्धता गरिएको छ । बालअधिकारको प्रवद्र्धन, संरक्षण र सुनिश्चितताका लागि जहाँ रहे पनि सक्रिय भूमिका निर्वाह गर्ने तथा बालबालिकाका आवाज परिवार, समुदाय र संस्थागत तहसम्म सुनुवाइका लागि पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।
भेलाले तत्कालका लागि हरेक जिल्लाबाट एक–एक जना प्रतिनिधि छनोट गरी कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यसमितिले संयोजक र सदस्य–सचिव चयन गर्ने तथा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गर्दै समितिलाई पूर्णता दिने व्यवस्था गरिएको छ ।
भेलाबाट गठित नेतृत्वमा तेज सोनाम संयोजक, अनिता नेपाली सहसंयोजक तथा हरिकला खड्का, निता भियाल, प्रकाश नेपाली, दीपक डाङ्गी, बाले विश्वकर्मा, रणबहादुर कार्की, जयन्तासुधा खत्री र हरिकाला खड्का सदस्य रहेका छन् । सिसिआर कर्णालीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । पूर्व बाल क्लब सदस्यहरूको अनुभव, सीप र नेतृत्व क्षमतालाई सामाजिक रूपान्तरणमा उपयोग गर्ने उद्देश्यले गठन गरिएको सञ्जालले आगामी दिनमा बालअधिकारसँग सम्बन्धित सवालमा साझा आवाज निर्माण गर्दै सरकार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन पैरवी गर्ने अपेक्षा गरिएको छ ।



कर्णाली समय । २३ श्रावण २०८३, शनिबार २०:४९