सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं- सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ ।

त्यसमध्ये विभिन्न पदका पदावधि तोकिएको छ । आईजीको पदावधि चार वर्ष तोकिएको छ । अर्याल ३० वर्षे सेवाअवधि पूरा हुनुभन्दा २३ महिनाअगावै पदको अवधि पूरा गरी अवकाश हुने भएका हुन् ।

नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा एकै मितिमा प्रवेश गरेका हुन् । उनीहरु नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुन् । उक्त टोलीको भर्ना मिति २०५४।१२।१८ हो । नेपाल प्रहरीका आईजी दानबहादुर कार्की पनि सोही टोलीका अधिकृत हुन् ।
अर्याल, पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित भएका थिए । समायोजनका क्रममा उनीहरुले प्रहरी सेवाको दर्जाको एक तह बढुवा पाएका थिए ।

सशस्त्रको आईजीका निम्ति पौडेलसँगै अर्का एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए । उनी पनि प्रहरीको १११ औँ टोलीकै अधिकृत हुन् । तर, एआईजी बढुवा हुँदा पौडेल अगाडि भए । उनको बढुवा २०७९ जेठ ६ गते भएको थियो । दाहाल भने २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए । डीआईजी बढुवादेखि नै दाहाल पौडेलभन्दा पछाडि परेका थिए । पौडेल २०७५ कात्तिक १३ मा डीआईजी बढुवा भएका हुन् भने दाहाल २०७६ माघ २२ मा बढुवा भएका थिए ।

सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम पौडेललाई आईजी नियुक्त गरेको हो । उक्त नियममा ज्येष्ठता र कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता एवं तल्लो तहका कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्यका आधारमा आईजी नियुक्त गर्ने व्यवस्था छ ।

को हुन् पौडेल ?

नवनियुक्त आईजी पौडेल सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलाका स्थायी बासिन्दा हुन् । हाल उनी काठमाडौंको टोखामा बसोबास गर्छन् । रेश्मीलाल पौडेल र नन्दकुमारी पौडेलको सन्तानका रुपमा उनी २०३० मंसिर ९ गते जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) गरेका छन् ।

पौडेलले सशस्त्रका दुईवटा बाहिनीको नेतृत्व अनुभव सँगालेका छन् । उनले कपिलबस्तुस्थित नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा र पोखरास्थित नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालयमा बाहिनीपतिको जिम्मेवारी सम्हालेका छन् ।

एसपी दर्जामा विशेष कार्यदल (नं. १९ बगलामुखी गण), सीमा सुरक्षा कार्यालय बर्दिया र नीलबाराही गणको गणपतिको जिम्मेवारी सम्हालेका थिए । उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनीको समादेशक भएर जिम्मेवारी सम्हालिसकेका छन् । साभार : नेपाल प्रेस



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,