
सुर्खेत-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनको संशोधित नतिजा सार्वजनिक गरेको छ । कार्यसम्पादन मूल्यांकन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले सूचना जारी गरेको थियो ।
आयोगले आव २०८१ ८२ को नतिजा यही फागुन २ गते सार्वजनिक गर्दै चैत ७ गतेभित्र पुनरावलोकन निवेदन पेश गर्न आग्रह गरेको थियो । संशोधित नतिजाअनुसार सुर्खेतको गुर्भाकोट नगरपालिकाले ७३.९१ अंकसहित पहिलो तथा वीरेन्द्रनगर नगरपालिकाले ६१.८६ सहित दोस्रो अंक ल्याएका छन् । लेकबेशी नगरपालिकाले ६१.०४, भेरीगंगा नगरपालिकाले ५९.३, चौकुने गाउँपालिकाले ५७.३१, चिंगाड गाउँपालिकाले ५५.०५, बराहताल गाउँपालिका ५४.७२, पञ्चपुरी नगरपालिका ५०.४५ र सिम्ता गाउँपालिकाले ४५.३८ अंक ल्याएका छन् । यसअघि प्रकाशित नतिजामा वीरेन्द्रनगरले ५९.७, बराहतालले ३८.२, पञ्चपुरीले ४१.३, चौकुनेले ५४.३, भेरीगंगाले ४७.४, गुर्भाकोटले ६८.९, लेकबेशीले ६३.५, चिंगाडले ४३.२ र सिम्ताले ४७ अंक ल्याएका थिए ।
आयोगको मूल्यांकनमा डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको थियो । ७५३ स्थानीय तहमध्ये अमरगढी ८१.७ अंक ल्याएको थियो । आयोगले कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ । साथै आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा स्थानीय तहको कार्यसम्पादनलाई समेत आधार मानि सिफारिस गर्दछ ।
कार्यसम्पादनमा आधारित मूल्याङ्कन गर्ने प्रयोजनको लागि प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यवधि, २०७८ तर्जुमा गरी प्रदेश सरकारको हकमा ११ वटा सुचकहरु र स्थानीय तहको हकमा १७ वटा सूचकहरु निर्धारण गरी मूल्याङ्कन गर्दै आइरहेको छ । उक्त सूचकहरुलाई अझ वढी वैज्ञानिक, व्यवहारिक, तथ्यपरक, मापनयोग्य र समय सापेक्ष बनाउन हाल कायम रहेका सूचकहरुको परिमार्जन, हेरफेर तथा थपघट गर्ने सन्दर्भमा आयोगले स्थानीय तहबाट सुझाव तथा पृष्ठपोषण माग गरेको थियो ।



कर्णाली समय । १८ चैत्र २०८२, बुधबार १३:४१