
सुर्खेत– नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस कार्यकर्तालाई आफ्नो घरमा सीमित नरही आम मतदाताको घरघरमा पुग्न निर्देशन दिएका छन् । कांग्रेस एकताबद्ध भएर मतदातासमक्ष नपुग्दा मुलुकले अर्को पाँच वर्ष फेरी प्रयोगशाला बेर्होनुपर्ने बताए ।
कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई विहीबार सुर्खेतमा सम्बोधन गर्दै उनले पार्टीभित्रका कमकमजोरी सुधार्दै र राम्रा अभ्यासलाई निरन्तरता दिँदै अघि बढ्ने बताए । उनले कर्णाली बनाउने भिजन कांग्रेससंग मात्रै भएकाले ढुक्क भएएर मत दिन आग्रह गरे । ‘मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ, पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,’ सभापति थापाले भने, तर त्यसका लागि सोच चाहिन्छ, त्यो सोच हामीसंग छ ।
उनले कर्णालीको विकास गर्ने कुरा नै महँगो रहेको बताउँदै कर्णाली र काठमाडौंको विकासको एउटै ढाँचा हेरेर नहुने धारणा राखे । ‘कर्णालीको वार्षिक आय प्रदेशको जम्मा ५२ करोड छ, काठमाडौं महानगरमा भने त्यहाँको मेयरलाई सुतिसुती विकास गर्ने पैसा हुन्छ, त्यहाँको खुत्रुकेमा १० अर्ब रुपैयाँ आफै जम्मा हुन्छ,’ उनले भने, त्यहाँ स्थानीय तहको आम्दानी सबैभन्दा बढी घरबहाल करबाटै आउँछ, अनि सुर्खेतको, कालिकोटको मान्छेले पनि काठमाडौंको खुत्रुकेमा घरभाडा जान्छ ।’
सभापति थापाले निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरे । आफू नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने प्रतिवद्धता जनाए । ‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन’, उनले भने, ‘पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु–एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले ग¥यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’ साथै उनले आफूहरू ती कुराहरू बदल्ने गरी आएको भन्दै पाँच वर्ष परिवर्तन र बदलावको वर्ष बनाउने दाबी गरे ।
चुनावी सभालाई उपसभापति पुष्पा भुसालले कांग्रेस एकताबद्ध भएर चुनावमा होमिएको र विशेष महाधिवेशनको विषयलाई लिएर कहीँ कतै मनमा तुष नपाल्न कार्यकर्तालाई आग्रह गरिन् । सभामा बोल्दै सुर्खेत १ का उम्मेदवार विष्णुबहादुर खड्काले विपक्षीहरुले अनावश्यक भ्रम फैलाइरहेको भन्दै सुर्खेतमा कांग्रेस एकढिक्का रहेको जिकिर गरे । सुर्खेत २ का उम्मेदवार नारायण कोइरालाले सुर्खेतमा सञ्चालित मेगा प्रोजेक्ट कांग्रेसकै पहलमा ल्याइएको र तीनलाई पूर्णता दिन पनि आफूहरु नै जनप्रतिनिधि बन्नुपर्ने बताए ।
चुनावी सभामा सुर्खेतका साथै कर्णालीका दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिमबाट कार्यकर्ताहरु वीरेन्द्रनगर आएका थिए ।



कर्णाली समय । १४ फाल्गुन २०८२, बिहीबार १७:१०