कर्णालीमा टेक्सेस परियोजना : शिक्षक शिक्षा सुदृढीकरण कार्यक्रमको एक वर्ष पुरा

सुर्खेत–विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग (Technical Support Cooperation to the School Education Sector -TECSES) परियोजनाले आफ्नो एक वर्ष पूरा गरेको छ । सन् २०२४ को जुन महिनाबाट सुरु भएको यो परियोजना फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा सञ्चालित छ ।


५ वर्ष (२०२४–२०२९) सम्म सञ्चालन हुने यस परियोजनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परियोजना सञ्चालित प्रदेशहरू, स्थानीय तह र विश्वविद्यालयहरूसँग सहकार्य गरेर शिक्षक शिक्षामा सुधार ल्याउने र सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

परियोजनाले सिकाइ उपलब्धि सबभन्दा कम र विद्यालय छोड्ने दर उच्च रहेको कर्णाली प्रदेशबाट आफ्नो काम सुरु गरेको थियो । टेक्सेस परियोजना फिनल्याण्डको हेलसिन्की विश्वविद्यालय (युनिभर्सिटी अफ हेलसिन्की) अन्तर्गतको शिक्षाको विकाससम्बन्धी कम्पनी एचवाई प्लसद्वारा कार्यान्वयन भइरहेको छ । यस परियोजनाले शैक्षिक अनुसन्धान, मानव अधिकार, प्रगतिशील मूल्य र दिगोपनमाथि विशेष ध्यान दिन्छ ।

टेक्सेसले सबै बालबालिकाको—उनीहरूको पृष्ठभूमि वा अपाङ्गताको स्थिति जे भए पनि—गुणस्तरीय शिक्षामा पहुँच रहेको होस् र राम्रो तालिमप्राप्त शिक्षकहरूबाट पढ्न पाएका हुन् भन्ने कुराको सुनिश्चित गर्न चाहन्छ । “हामी विद्यालय, शिक्षक र स्थानीय तहसँग मिलेर वास्तविक समस्या बुझ्ने र स्थानीयस्तरमै समाधान खोज्ने प्रयास गर्छौं,” टेक्सेस कर्णाली प्रदेश संयोजक बखत भण्डारी भन्छन् । कर्णालीमै जन्मिएर हुर्किएका भण्डारीका लागि यो काम व्यक्तिगत रूपमा निकै महत्वपूर्ण छ । उनी भन्छन्, “कर्णाली मेरो घर हो, म यहीँ हुर्किएँ, र यहाँका समुदायले शिक्षामा भोगिरहेका कठिनाइहरू मलाई राम्रोसँग थाहा छ । कर्णालीमा शिक्षण र सिकाइ सुधार गर्न मद्दत गर्नु मेरो मनले चाहेको कुरा हो ।”

पछिल्लो एक वर्षमा टेक्सेसले कर्णालीका सबै १० वटै जिल्लाका शिक्षक, शिक्षा अधिकारी र स्थानीय नेतृत्व वर्गहरूसँग मिलेर काम गरिरहेको छ । यस परियोजनाले शिक्षकहरूको पेशागत विकास, समावेशी कक्षा अभ्यास र स्थानीय स्तरमा शिक्षाको राम्रो योजना बनाउन सहयोग पु¥याइरहेको छ । अहिले टेक्सेसले कर्णालीमा शिक्षक तालिम केन्द्र निर्माण र शिक्षकहरूका लागि डिजिटल तालिम सुधार गर्ने स्थानीय प्रयासमा साथ दिइरहेको छ ।

सन् २०२५ मा यो परियोजनाले आफ्नो अनुभवको आधारमा कार्य विस्तार गर्दै मधेस र सुदूरपश्चिम प्रदेशमा समेत काम सुरु गर्ने योजना बनाएको छ । भण्डारी भन्छन्, “यो त मात्र सुरुवात हो । हामी अहिलेसम्मको उपलब्धिमा गर्व गर्छौं र भविष्यमा हुने कामका लागि उत्साहित छौं ।”

टेक्सेस कर्णाली प्रदेश संयोजक बखत भण्डारी