काठमाडौं– गीतकार टिकाराम ढकालको रचना रहेको गीत “छोरो गयो परदेश..” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा आज एक कार्यक्रमका बीच वरिष्ठ हास्य कलाकार नारद खतिवडाले सार्वजनिक गरे । म्युजिक भिडियोमा खतिवडाको मुख्य अभिनय छ । गीतको भिडियो निर्देशक कपिल कार्कीले निर्माण गरेका हुन भने भिडियोमा कलाकार नारद खतिवडा, दिपेन्द्र खत्री (आरुष), डिजराज पौडेल, टिकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतको अभिनय देख्न सकिन्छ ।
नेपाल सरकार, वैदेशिक रोजगार बोर्डको निर्देशक समेत रहेका ढकाल सुर्खेतका स्थायी बासिन्दा हुन् । उनको आफ्नै युट्युब च्यानल @ Dhakal TR बाट रिलिज गरिएको उक्त गीतमा नेपालको वैदेशिक रोजगारीको वर्तमान अवस्था, सो सम्बन्धमा आम मानिसमा सिर्जना भएको धारणा र भाष्य लगायतको यथार्थता देखाउन खोजिएको छ । गीतको अन्त्यमा वैदेशिक रोजगारप्रति निराशमात्र हुनु नपर्ने र सोबाट नेपालले गर्न सक्ने विकास एवं समृद्धि सम्बन्धी सकारात्मक सन्देश दिन खोजेको छ ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार ढकालले आफै वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको कल्याणकारी कार्य गर्ने निकायमा कार्यरत रहेकाले वैदेशिक रोजगारीका समस्या, पीडा, वर्तमान अवस्था प्रत्यक्ष रुपमा नजिकबाट अनुभुति गरेको र भावी दिनमा यसको सकारात्मक असर देखिने समेत अनुभुत गरी सो विषयलाई सन्देशमूलक गीतबाट आम श्रोता तथा दर्शकमाझ पस्किने जमर्को गरेको बताएका छन् । यस अघि उनले निर्माण गरेको ख्यालै ख्यालैमा भैयो बन्धकी बोलको गीत गत दशैंमा सार्वजनिक भएको थियो ।
वरिष्ठ हास्य कलाकार खतिवडाले वैदेशिक रोजगारीको वर्तमान अवस्थाले निराशावादी रहेका आम श्रोतालाई आशावादी बन्नेतर्फ सकारात्मक सन्देश दिएको र उक्त गीतमा ढकालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । गायक डिजराज पौडेलले आफुहरुले उक्त गीत मार्फत मनोरञ्जनात्मक तवरले सन्देश समेत दिन खोजेको र आफूले गाएका गीतहरु मध्ये उत्कृष्ट रहेको बताएका छन् । कार्यक्रममा म्युजिक भिडियो निर्देशक कपिल कार्की लगायतका निर्माण टिमको उपस्थिति थियो ।
गीतको भिडियो हेर्ने लिंकः https://www.youtube.com/watch?v=NwOuc7uGT1k


कर्णाली समय । १५ फाल्गुन २०८१, बिहीबार २०:२५