पेट्रोलियम अन्वेषणमा सकारात्मक संकेत, नमूना परीक्षण गर्दै चिनियाँ प्राविधिक

प्रकाश अधिकारी/सुर्खेत – चिनियाँ सरकारको सहयोगमा दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाको तेस्रो चरणको काम शुरु भएको छ । ड्रिलिङको काम सकिएलगत्तै प्रयोगशाला परीक्षणका लागि नमूनाहरु चीन पठाउन थालिएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङबाट प्राप्त चट्टान, ग्यास लगायतको नमूना (स्याम्पल) संकलन गरी तातोपानी नाका हुँदै चीनतर्फ पठाइएको हो । गत २८ बैशाखदेखि शुरु ड्रिलिङ कार्य २० पुसमा सम्पन्न भएको हो । असोज मसान्तसम्म ड्रिलिङ कार्य सक्ने योजना रहेपनि जमिनमूनी कडा चट्टान भेटिएकाले अढाइ महिना समय लम्बिएको हो ।

पेट्रोलियम अन्वेषण परियोजनाका कामहरु तीन चरणमा गरिएको छ । पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन, दोस्रो चरणमा ड्रिलिङ र तेस्रो चरणमा प्राविधिक नतिजा विश्लेषण पर्दछन् । अहिले तेस्रो चरणको काम सम्पन्न गर्न संकलित नमूनाहरुलाई प्रयोगशालामा परीक्षण गर्न चीन पठाइएको हो । यस अन्तर्गत भौर्गभिक सूचना, प्रयोगशाला रिर्पोटसहितको निश्कर्ष प्रतिवेदनका कामहरु पर्दछन् ।

दोस्रो चरणको काम कोभिड १९ को महामारीका कारण दुई वर्ष ढिला भएको हो । खानी तथा भूगर्भ विभागका अनुसार नेपालको इतिहासमै पहिलोपटक ड्रिलिङ विधिबाट पेट्रोलियम अन्वेषण गरिएको यो पहिलो हो । पहिलोपटक नै ड्रिलिङ विधि सफल भएको विभागको दाबी छ । विभागको पेट्रोलियम अन्वेषण तथा प्रर्वद्धन केन्द्रका वरिष्ठ भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले चट्टान, माटोको गुण, छिद्रहरुको परीक्षण, जैविक पदार्थको ल्याब परीक्षण गर्ने काम शुरु भएको बताए । परीक्षण पश्चात चिनियाँ कम्पनी जिओलोजिकल सर्भे कम्पनीले अन्वेषणको नतिजा विश्लेषणसहितको विस्तृत प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । ‘दैलेखमा पेट्रोलियम पदार्थ रहेको शंका रहेन, प्रारम्भिक संकेत ग्यास रहेको देखियो, सम्भावित पेट्रोलियम पदार्थको मात्रा, गुणस्तरको नतिजा अब उक्त परीक्षणबाट प्राप्त हुनेछ,’ उनले भने, ‘पेट्रोलियम अन्वेषणको प्रतिवेदन कस्तो आउँछ त्यस आधारमा नेपाल सरकारले कार्ययोजना बनाउँछ, अन्तिम प्रतिवेदन नआउँदै भावी कदमबारे टिप्पणी गर्न उपर्युक्त हुँदैन् ।’

चिनियाँ कम्पनीले नेपाल सरकारलाई प्रतिवेदन कहिलेसम्म बुझाउने भन्ने यकिन छैन् । खानी तथा भूगर्भ विभाग र चिनियाँ कम्पनीबीच पेट्रोलियम अन्वेषण परियोजनाको सम्झौताको अवधि भने २८ फेब्रुअरीमा सकिँदैछ । सो प्रतिवेदनका आधारमा सरकारले आर्थिक विश्लेषण, प्रशोधन र भण्डारनको कार्ययोजना बनाउनेछ ।

पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत ड्रिलिङको काम सम्पन्न भएसंगै कामदारहरु चीन फर्कँदै छन् । पुनः उपयोगमा आउन सक्ने उपकरणबाहेक अन्य उपकरणहरु पठाउन थालिएको छ । चिनियाँ कम्पनी सिएनपिसी इन्जिनियरिङले ४ हजार १३ मिटर ड्रिलिङ गरेको हो । सम्झौतामा भने ४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्य थियो । चीन सरकारको जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन गरी अन्वेषणको काम अघि बढाएको थियो । दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरी ड्रिलिङको काम थालिएको थियो । यो क्षेत्र पञ्चकोशी तीर्थस्थलका रुपमा परिचित शिरस्थान, नाभिस्थानको नजिकै पर्दछ । यहाँका मन्दिरहरुमा सदियौंदेखि ज्वाला प्रज्वलित छन् ।

नेपालमा २०७२ कोे संविधान जारीपछि भारतीय सीमा क्षेत्रमा नाकाबन्दी हुँदा पारवहन ठप्प भएको थियो । त्यसबेला पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुहरुको हाहाकार भएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा पारवहन सन्धिका साथै पेट्रोलियम पदार्थको अन्वेषण गर्न द्धिपक्षीय समझदारी पत्रमा हस्तारक्षर भएको थियो । उक्त समझदारीमा नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्बन्धी समझदारी अन्र्तगत नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख थियो ।

चैत २०७२ नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई पेट्रोलियम खानीबारे विस्तृत अन्वेषण गर्नेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । उक्त सहमति अनुसार २०७६ फागुनमा खानी तथा भुर्गभ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दुई अर्ब ४० करोड लागतमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो । चीनले २०७९ मा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ गर्ने स्थान छनौट गरेको थियो । सोही अनुसार नेपालगञ्ज हुँदै ड्रिलिङ मेसिन, कन्टेनरहरु अन्वेषणस्थल जलजलेमा पु¥याइएको थियो ।

यो चीनको पूर्ण अनुदानमा सञ्चालित परियोजना हो । नेपाल सरकारले सडक फराकिलो पार्ने, जग्गाको मुआब्जा र शान्ति सुरक्षामा बाहेक अन्य रकम खर्च गर्नुपरेको छैन् । परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ स्थापना गरेको छ । विभागको यो युनिटले जग्गा अधिग्रहण, सडक चौडा पार्ने, विद्युत पहुँच विस्तार, प्रशासनिक समन्वय गर्ने लगायतका काममा सहजीकरण गर्दै आएको छ ।

दैलेखबासी उत्साही
दैलेखबासीले वर्षौैंदेखि पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ रहे/नरहेको अनुसन्धान गर्न आग्रह गर्दै आएका थिए । दैलेखमा कार्यान्वयनमा आइरहेको पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाबाट जिल्लाबासी उत्साही छन् । यसले वर्षौंदेखि बगेर खेर गइरहेको ग्यास, पेट्रोलको उपयोगमा आउनुका साथै जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

उत्खनन् एवं अन्वेषण गर्दा यहाँको धार्मिक अस्तित्व मेट्न नहुनेमा जिल्लाबासी एकमत छन् । धार्मिक र वैज्ञानिक उपयोगबाट पञ्चकोशी क्षेत्रलाई रुपान्तरण गर्न सके जिल्लाको समग्र विकासमा मद्दत पुग्दछ । दैलेख उद्योग वाणिज्य संघका महासचिव प्रकाश पौडेलले दैलेखमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थको प्रशोधन जिल्लामै गर्न सचेत हुनुपर्ने बताए । ‘यस्ता ठूला परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना हुन गई युवाहरु विदेसिनुपर्ने बाध्यतामा केही सुधार आउन सक्छ,’ उनले भने, ‘यो परियोजना मुलुकको आर्थिक समृद्धिका लागि कोशेढुंगा बन्नेछ ।’

भैरवी गाउँपालिकाकी अध्यक्ष रिता शाहीले परियोजनाको सफलताले समग्र जिल्लाकै गौरव बढाएको बताइन् । उनले भनिन्, ‘यसले मुलुकको समग्र आर्थिक विकासका साथै जिल्लाको पर्यटन विकासमा समेत टेवा पु¥याउँछ ।’ पछिल्लो समय अन्वेषण परियोजना हेर्न मुलुकका विभिन्न स्थानबाट मानिसहरु दैलेख पुग्ने गरेका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,