‘नेपाल प्रहरी अमर प्रहरीहरुको त्याग र बलिदानको उपज हो’

सुर्खेत– कर्णाली प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) जनक भट्टराईले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी वीर तथा अमर प्रहरीको त्याग, तपस्या र बलिदानको उपज भएको बताएका छन् ।

६९ औं प्रहरी दिवसका अवसरमा मंगलबार प्रदेश प्रहरी कार्यालयमा आयोजित श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी भट्टराईले प्रहरीले कर्तव्यको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गरेर संगठनका साथै राष्ट्रलाई बचाउने काम गरेको बताए । नेपाल प्रहरीले राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनबाट सिर्जित अवस्थालाई अत्यन्त संयम भएर आत्मसाथ गर्दै आएको उनको भनाई थियो ।

साथै उनले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध अनुसन्धान गर्न, निर्देशित कानुनको कार्यान्वयन गर्न नेपाल प्रहरी अब्बल संगठनको रुपमा ख्याती कमाएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक नेत्रमणि गिरीले वीर प्रहरीको योगदान संगठनले कहिल्यै भुल्न नसक्ने बताए ।

अमर प्रहरीका आश्रित परिवारहरुको तर्फबाट नन्दा श्रेष्ठ, नेपाल पूर्व प्रहरी संगठन सुर्खेतका अध्यक्ष दिपबहादुर खड्का, नेपाल पूर्व प्रहरी संगठन प्रदेश समितिका अध्यक्ष मिनबहादुर गरञ्जाले अमर तथा सेवा निवृत्त प्रहरी र तिनका परिवारले भोग्नुपरेका समस्या र प्रहरी संगठन तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबारे धारणा राखेका थिए । कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघ कर्णाली प्रदेशका अध्यक्ष सरला बस्नेतले अमर प्रहरीका आश्रित परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिन् भने डिआईजी भट्टराईले ज्येष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा डिआईजी भट्टराईसहित सिनियर प्रहरी अधिकृत, पूर्व प्रहरी कर्मचारी, उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । नेपाल प्रहरीले गर्वको साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने नाराका साथ ६९ औं प्रहरी दिवस बुधबार पनि मनाउने कार्यक्रम रहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,