सुर्खेत– कर्णाली प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) जनक भट्टराईले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी वीर तथा अमर प्रहरीको त्याग, तपस्या र बलिदानको उपज भएको बताएका छन् ।
६९ औं प्रहरी दिवसका अवसरमा मंगलबार प्रदेश प्रहरी कार्यालयमा आयोजित श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी भट्टराईले प्रहरीले कर्तव्यको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गरेर संगठनका साथै राष्ट्रलाई बचाउने काम गरेको बताए । नेपाल प्रहरीले राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनबाट सिर्जित अवस्थालाई अत्यन्त संयम भएर आत्मसाथ गर्दै आएको उनको भनाई थियो ।
साथै उनले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध अनुसन्धान गर्न, निर्देशित कानुनको कार्यान्वयन गर्न नेपाल प्रहरी अब्बल संगठनको रुपमा ख्याती कमाएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक नेत्रमणि गिरीले वीर प्रहरीको योगदान संगठनले कहिल्यै भुल्न नसक्ने बताए ।
अमर प्रहरीका आश्रित परिवारहरुको तर्फबाट नन्दा श्रेष्ठ, नेपाल पूर्व प्रहरी संगठन सुर्खेतका अध्यक्ष दिपबहादुर खड्का, नेपाल पूर्व प्रहरी संगठन प्रदेश समितिका अध्यक्ष मिनबहादुर गरञ्जाले अमर तथा सेवा निवृत्त प्रहरी र तिनका परिवारले भोग्नुपरेका समस्या र प्रहरी संगठन तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबारे धारणा राखेका थिए । कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघ कर्णाली प्रदेशका अध्यक्ष सरला बस्नेतले अमर प्रहरीका आश्रित परिवारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिन् भने डिआईजी भट्टराईले ज्येष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा डिआईजी भट्टराईसहित सिनियर प्रहरी अधिकृत, पूर्व प्रहरी कर्मचारी, उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । नेपाल प्रहरीले गर्वको साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने नाराका साथ ६९ औं प्रहरी दिवस बुधबार पनि मनाउने कार्यक्रम रहेको छ ।

कर्णाली समय । २९ आश्विन २०८१, मंगलवार २०:५६