सुर्खेत–नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले दुई दलीय प्रणालीको वकालत नगरेको बताए । सुर्खेतमा विहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्ने तर अरु दलहरु खोल्न नपाइने भनेर नभनेको प्रष्ट पारे ।
अमेरिका र बेलायतको उदारहण दिँदै महासचिव पोखरेलले लामो लोकतान्त्रिक अभ्यास भएका देशमा समेत दुई दलले वर्षौंसम्म शासन सञ्चालन गरिरहेको बताए । ‘छ–छ महिनामा सरकार फेरबदल गरेर विकास र समृद्धि सम्भव छ त भन्दा छैन्, बरु दुई विचारको बीचमा प्रतिष्पर्धा जरुरी छ,’ उनले भने, ‘हामी बलिया निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सबैलाई जोड्न चाहान्छौं, जनमत विभाजित नहोस् भन्ने चाहान्छौं, अरु दललाई निषेध गर्न खोजेको होइन् ।’
आगामी निर्वाचनमा कांग्रेस र एमाले अलग अलग लड्ेर मुलुकलाई सही दिशा दिन जरुरी रहेको बताउँदै भने, ‘साना पार्टीले ठूला पार्टीलाई जुधाएर नभई स्थायित्व र विकासका लागि साथ दिए सहयोग गर्नुपर्छ ।’ उनले कांग्रेस र एमालेबीच वर्तमान गठबन्धनका सम्बन्धमा कुनै फरक मत नरहेको समेत प्रष्ट पारे । साथै उनले वर्तमान सरकार बनेपछि मुलुकमा नयाँ आशा जागेको र युवाहरुलाई स्वेदशमै बस्ने उत्प्रेरित गर्न स्टार्टअप योजना ल्याइएको बताए । यसले युवाहरुमा छाएको निराशा अन्त्य भई स्वदेशमै बस्न उत्प्रेरित गर्ने उनको दाबी छ ।
शाहविरुद्धको आरोप अनुचित
फरक प्रसंगमा महासचिव पोखरेलले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरुद्ध लगाइएको आरोप अनुचित रहेको बताए । ‘व्यक्ति स्वयंंले उजुरी दिएको होइन भनेर मलाई भेट्नुभएको छ, अनावश्यक कथा बनाइयो,’ उनले भने, ‘पार्टीले गर्नुपर्ने के हो भन्ने कुरा त बाहिर आइहाल्छ ।’ प्रदेश अध्यक्ष शाहविरुद्ध सल्यानका एक महिलाले दुव्र्यवहार गरेको आरोप लगाउँदै पार्टी केन्द्रमा उजुरी दिएको समाचार केही अघि सार्वजनिक भएको थियो । उक्त समाचारको खण्डन गर्दै महासचिव पोखरेलले पार्टीमा कुनै उजुरी नपरेको बताएका हुन् ।
बालेनको दुर्बल पक्षमाथि बहस चल्न पाउनुपर्छ
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीच वाक युद्ध चलिरहेको सन्र्दभमा पत्रकारको प्रश्नमा महासचिव पोखरेलले भने, ‘वाकयुद्ध चलेको बनावटी कुरा हो, प्रधानमन्त्रीले कुनै कुरा भन्नुभएको छैन्, बालेनको अभिव्यक्तिको विषयमा समाजमा बहस चलेको छ, हरेक व्यक्तिका सबल र दुर्बल पक्षका बारेमा समाजमा बहसहरु चल्छन्, दुर्बल पक्षमाथि त झन बहस चल्न पाउनुपर्छ ।’
एमालेका एक प्रदेश सांसदमाथि बालेनले लगाएको आरोप राज्यका सम्बन्धित निकायले अनुसन्धान गर्ने भएकाले धेरै चिन्ता गरिरहन नपर्ने उनको भनाई थियो । उनले भने, ‘एउटा मेयरले आरोप लगाउन वित्तिकै सबै सत्य मानेर त्यसकै पछाडि कुँद्नुपर्दैन, राज्यका निकाय छन्, छानबिन गर्छन् ।
कर्णाली समय । २० भाद्र २०८१, बिहीबार १७:०८