सुर्खेतका ८ पत्रकार पुरस्कृत

सुर्खेत– सुर्खेतमा क्रियाशिल आठ जना पत्रकार पुरस्कृत भएका छन् । १२ औँ अधिवेशन तथा साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरेको हो ।

महासंघले महासंघले कान्तिपुर टिभीका कमल पन्तलाई यस वर्षको वर्ष पत्रकारिता पुरस्कार प्रदान गरेको छ । त्यस्तै पत्रकारद्धय आकाशतारा बयक र रमेश रावललाई शान्ति तथा विकास पत्रकारिता पुरस्कारलाई प्रदान गरेको छ । पत्रकारद्धय शेरबहादुर थापा र चन्द्रा कंडेललाई खानेपानी तथा सरसफाई पुरस्कार, रेडियो भेरीकी डिलु रावतलाई स्वर्गीय नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो । यसै वर्ष स्थापना गरिएको क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकममा कार्यरत ओमबहादुर शाही र युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नविन सुवेदीलाई प्रदान गरेको छ ।

महासंघको अधिवेशन तथा साधारण सभा उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकारहरु राष्ट्रको सच्चा पहरेदार रहेको बताए । ‘राष्ट्रलाई वा जनतालाई कुनै समस्या आएको खण्डमा पत्रकारहरुले नै खबरदारी गर्नुपर्छ, पत्रकारहरु मुलुकको सच्चा सेवक र पहरेदार हुन्,’ उनले भने । मुलुकमा आएको परिवर्तनलाई दुरुपयोगलाई रोक्न पत्रकारहरुको निरन्तर खबरदारी गर्नुपर्ने प्रदेश प्रमुख परियारको भनाई थियो ।