सुर्खेत– कर्णालीमा राष्ट्रिय सभाका तीन सिटका लागि प्रतिस्पर्धा हुँदैछ । ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो । त्यसका लागि निर्वाचन आयोगले सोमबार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
जाजरकोटका श्रेष्ठ अन्य, कालीकोटका लुहार दलित र सुर्खेतकी चपाईं महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्य भएका थिए । उनीहरु निर्वाचित भएकै क्लस्टरमा चुनाव हुने भएकाले सत्ता गठबन्धनबाट अन्य, दलित र महिला एक/एक जनाले मात्र उम्मेदवार बन्ने अवसर पाएका छन् । सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/ एक सिटमा उम्मेदवारी दर्ता गर्नेछन् ।
माओवादीले कर्णालीमा कालीकोटका विष्णु विकलाई दलित क्लस्टरबाट उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेश महामन्त्रीसमेत रहेका रुकुम पश्चिमका कृष्ण रोकायालाई उम्मेद्वार बनाएको छ भने एकीकृत समाजवादीले महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चुनावमा एक्लै भिड्न लागेको नेकपा एमालेले कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्यहरु मतदाता हुने यो मतदानको नजिता मतभारका आधारमा हुन्छ । जसअनुसार प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ । ७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिका गरी १५८ जना मतदाता रहेका छन् ।
अहिले सत्ता गठबन्धन दलबाट कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा कांग्रेसको २ हजार ७०, माओवादीको एक हजार ६०१ र एकीकृत समाजवादीको २४३ गरी ३, ९१४ मतभार गठबन्धनको पक्षमा आउनेछ । एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु उसको मतभार निकै कम हुनेछ । एमालेको १, १९५ र राप्रपाको ५३ जोड्दा उनीहरुको पक्षमा १, २४८ मतभार हुनेछ ।


कर्णाली समय । २३ पुष २०८०, सोमबार १२:३७