वीरेन्द्रनगर १ मा सार्वजनिक सुनुवाइ : सेवा सुधार गर्न ६ बुँदे प्रतिवद्धता

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का बासिन्दाले वडा कार्यालयबाट प्रदान गरिने सेवा तथा विकास निर्माण सम्बन्धी जिज्ञासाहरुको जनप्रतिनिधि र कर्मचारीसंग जवाफ मागेका छन् । वडा कार्यालयको आयोजना तथा कर्णाली मिडिया सेन्टरको सहजीकरणमा शनिबार सम्पन्न सार्वजनिक सुनुवाइमा उपस्थित वडाबासीहरुले जनप्रतिनिधिसंग जवाफ मागेका हुन् ।

सार्वजनिक सुनुवाइको प्रश्नोत्तर सत्रमा वडाका बासिन्दाले फोहोर व्यवस्थापन प्रभावकारी रुपमा सञ्चालन नभएको, अधिकांश टोलहरुमा खानेपानीको चरम समस्या रहेको, विद्युतको लो भोल्टेज, सडक, विद्यालय लगायत भौतिक पूर्वाधार विकास कमजोर रहेको, सामुदायिक वन अतिक्रमणमा परेको, युवाहरु लागूऔषध दूव्र्यसनमा लागेको जस्ता समस्या दर्शाएका थिए ।

सहभागीहरुका प्रश्नको जवाफ दिँदै अध्यक्ष दिनेश खत्रीले वडाबाट हुने दैनिक सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनुका साथै विकास निर्माणका लागि निरन्तर प्रयत्नशिल रहेको बताए । उनले वीरेन्द्रनगरको १ नं. वडा भएतापनि विकासमा पछाडि परेको भन्दै वडाको विकासका लागि नगरपालिका, प्रदेश सरकार तथा जनप्रतिनिधिहरुसंग निरन्तर पहल गरिरहेको जनाए । साथै वडाबाट सञ्चालन गरिने कार्यक्रमहरुलाई आगामी दिनमा थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा सचिव सपना गौतमले कार्यालयबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउने, कार्यालयमा नागरिक वडापत्र, सूचना पाटी र उजुरी पेटिकाको व्यवस्था गर्ने प्रतिवद्धता जनाइन् । वडा सदस्य हरिप्रसाद पौडेलले वडाका जनप्रतिनिधि र कर्मचारी सबै जनताको काममा सधैँ लागि परेको धारणा राखे । वडा सदस्य बेलु दर्लामीले महिला, बालबालिका ज्येष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिहरुका लागि लक्षित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै आगामी बर्ष त्यसलाई थप गर्दै लगिने प्रतिवद्धता व्यक्त गरिन् ।

सहभागीका जिज्ञासा र जनप्रतिनिधिको जवाफपछि विभिन्न छ बुँदामा लिखित प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ । वडा कार्यालयले योजना छनौट गर्दा टोल स्तरमा बढी भन्दा बढी नागरिकको सहभागिता गराउने, वार्षिक कार्यक्रम र बजेट सूचना पाटीमा टाँस्ने तथा आमसञ्चारका माध्यमबाट सार्वजनिक गर्ने, वडा कार्यालयमा नागरिक वडापत्र, उजुरी पेटिका र सूचनापाटीको तत्काल व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ ।

त्यस्तै वडाभित्रको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा अपांगता भएका व्यक्तिहरुका लागि लक्षित कार्यक्रम वृद्धि गर्ने र वडा भित्र हुने विकास निर्माणलाई आवश्यकताका आधारमा छनौट गरी गुणस्तरीयता कायम गराउने प्रतिवद्धता गरिएको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,