कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : दोहोरिए पुरानै कार्यक्रम

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, वन तथा सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्णपाठ वाचन गरेका थिए । प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रमले “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” को दीर्घकालीन लक्ष्यलाई आधार बनाउँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र आर्थिक आत्मनिर्भरतामा जोड दिएको छ । तर अधिकांश कार्यक्रम अघिल्ला वर्षहरुकै निरन्तरता छन् । जसलाई कार्यान्वयन नहुने कार्यक्रमका रुपमा टिप्पणी गर्ने गरिएको छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक तथा बजारमुखी बनाउने रणनीति अघि सारिएको छ । प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक खेती तथा पशुपालनमा लागेका किसान, सहकारी र निजी क्षेत्रलाई कृषि ऋणको ब्याजमा सहुलियत प्रदान गरिने भएको छ । पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरिने उल्लेख गरिएको छ । दुई हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गर्ने समूह, सहकारी तथा कम्पनीलाई लागत साझेदारीका आधारमा अनुदान उपलब्ध गराइने भएको छ ।
माटो परीक्षण सेवा स्थानीय तहसम्म विस्तार गर्दै माटो स्वास्थ्य कार्ड वितरण गरिने, जैविक मल तथा जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गरिने र सामुदायिक बीउ बैंक स्थापना गरिने कार्यक्रम पनि समेटिएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हरेमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गरिने तथा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।
प्रदेश सरकारले फलफूल खेतीलाई विशेष प्राथमिकता दिएको छ । स्याउ, ओखर, किवी, ड्रागन फ्रुट, लिची, आँप, केरा र स्ट्रबेरीलगायतका फलफूलको व्यावसायिक उत्पादन विस्तार गरिने भएको छ । ‘एक गाउँ, एक व्यावसायिक फलफूल बगैंचा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ भने सुर्खेत र मुगुमा कपास खेतीको व्यवसायीकरण गरिने नीति लिइएको छ । कर्णालीको स्याउलाई राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न विशेष अभियान सञ्चालन गरिने र स्याउ विकास बोर्ड गठनका लागि कानुनी व्यवस्था गरिने भएको छ ।
स्थानीय रैथाने बालीको संरक्षण र व्यवसायीकरणलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको छ । विद्यालय तथा सरकारी निकायमा स्थानीय उत्पादनमा आधारित खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ । ‘कर्णाली हाई–भ्यालु क्रप करिडोर’ स्थापना गरी उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत मूल्य शृंखलामा आबद्ध गरिने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
पशुपालन क्षेत्रको विकासका लागि जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पामा भेडा तथा च्याङ्ग्रा क्लस्टर विकास गरिने भएको छ । सुर्खेत र दैलेखमा मत्स्य व्यवसाय विस्तार, डेरी उद्योग स्थापना तथा खोरेत रोग उन्मूलन कार्यक्रम सञ्चालन गरिनेछ । ‘आफ्नै गोठ, आफ्नै स्रोत’ अभियानमार्फत स्थानीय नस्ल संरक्षण, कृत्रिम गर्भाधान सेवा विस्तार तथा घाँसखेती प्रवद्र्धन गरिने नीति लिइएको छ ।
स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न कानुन तर्जुमा गरिने भएको छ । प्रदेशअन्तर्गतका अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने तथा स्वास्थ्य संस्थाका सबै अभिलेख डिजिटल प्रणालीमा रूपान्तरण गरिने कार्यक्रम रहेको छ । विद्यालयमा नर्सिङ सेवा विस्तार गर्दै ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर, पार्किन्सन, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी तथा अटिजमजस्ता दीर्घरोगका बिरामीलाई उपचार सहायता उपलब्ध गराइने भएको छ । आकस्मिक स्वास्थ्य उपचार कोषलाई निरन्तरता दिइने तथा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको समुदायस्तरमै स्वास्थ्य परीक्षण गरिने नीति सार्वजनिक गरिएको छ ।
कर्णालीलाई ‘आरोग्य पर्यटन’ को केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योग, ध्यान र जीवनशैली परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय तहमा योग केन्द्र स्थापना गर्न सहकार्य गरिने र ‘एक जिल्ला, एक नमुना स्वास्थ्य स्थानीय तह’ अभियान सुरु गरिने भएको छ ।
सामाजिक क्षेत्रतर्फ लैङ्गिक समानता, महिला सशक्तीकरण, दलित तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने भएका छन् । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाका लागि अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । बालमैत्री शासन प्रणाली स्थापना गर्न प्रदेशस्तरीय नीति तथा कानुन निर्माण गरिने र स्थानीय तहलाई बालविवाहमुक्त, छाउपडीमुक्त तथा छुवाछुतमुक्त घोषणा गर्न प्रोत्साहन गरिनेछ ।
शिक्षा क्षेत्रमा प्रदेश शिक्षा नीति तथा दशवर्षीय शिक्षा योजना कार्यान्वयन गरिने भएको छ । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल पूर्वाधार विस्तार तथा शिक्षकको क्षमता विकासमा विशेष जोड दिइएको छ । विद्यालय छाड्ने दर घटाउन स्थानीय तहलाई थप वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ ।
युवालाई सीपयुक्त र दक्ष जनशक्ति बनाउने उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रदेशको विकास आवश्यकतासँग जोडिने भएको छ । मध्यपश्चिम विश्वविद्यालयसँग साझेदारी गरी अनुसन्धान, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्रोत्साहन गरिनेछ । युवाका लागि अनुसन्धान र इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
खेलकुदतर्फ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्राथमिकता दिइएको छ । खेलमैदान निर्माण, योग तथा व्यायाम कार्यक्रम विद्यालय तहसम्म विस्तार गर्ने नीति लिइएको छ । युवामैत्री स्वरोजगार कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन तथा रोजगार अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि सारिएको छ । ‘कर्णाली पर्यटन दशक २०८३/०८४–२०९३/०९४’ घोषणा गर्दै कर्णालीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने भएको छ । होमस्टे, ग्रामीण पर्यटन तथा साहसिक पर्यटनसँग सम्बन्धित सीप विकास कार्यक्रम सञ्चालन गरिनेछन् । सुर्खेत विमानस्थल विस्तार तथा हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरिने भएको छ ।
वन तथा वातावरण क्षेत्रमा दिगो वन व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । कर्णालीलाई काठ तथा दाउरामा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । हिमाली पाटन तथा खर्कहरूको संरक्षण, जडीबुटी प्रशोधन तथा मूल्य शृंखला विकासमार्फत स्थानीय समुदायको आयआर्जन बढाइने भएको छ । हिमचितुवा, कस्तुरी मृग, रेड पाण्डाजस्ता दुर्लभ वन्यजन्तुको संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने भएका छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि एकीकृत जलस्रोत विकास रणनीति तर्जुमा गरिने भएको छ । भूगर्भीय जल पुनर्भरण, जलाशय निर्माण तथा खानेपानी सुरक्षालाई प्राथमिकता दिइएको छ । ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिइनेछ । राष्ट्रिय ग्रिड नपुगेका क्षेत्रमा सौर्य, वायु तथा लघु जलविद्युत् आयोजनाको विस्तार गरिने भएको छ । २० मेगावाटसम्मका जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाइने नीति सार्वजनिक गरिएको छ ।
पूर्वाधारतर्फ प्रदेश सडक सञ्जाल गुरुयोजना अद्यावधिक गर्दै रणनीतिक सडक, कृषि सडक, पर्यटन सडक तथा आर्थिक करिडोर निर्माणलाई प्राथमिकता दिइने भएको छ । ‘एक स्थानीय तह, एक सर्वयाम सडक’ कार्यक्रममार्फत सडक पहुँच नपुगेका स्थानीय तहलाई पक्की सडक सञ्जालसँग जोडिनेछ । कर्णाली करिडोर, भेरी करिडोर तथा उत्तर–दक्षिण सडकको स्तरोन्नतिमा जोड दिइने भएको छ ।
त्यस्तै, सडक सुरक्षाका लागि ब्ल्याक स्पट पहिचान गरी दुर्घटना न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ । विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ ।
‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा तथा ‘मुख्यमन्त्रीसँग नागरिक संवाद’ कार्यक्रममार्फत जनगुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइने भएको छ । वित्तीय अनुशासन कायम गर्न शून्य बेरुजु अभियान सञ्चालन गरिने, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरिने तथा बजेट विनियोजनलाई परिणाममुखी बनाइने नीति लिइएको छ । बहुवर्षीय तथा स्रोत सुनिश्चित आयोजनालाई प्राथमिकता दिँदै नयाँ आयोजना छनोटमा आयोजना बैंक प्रणालीलाई कडाइका साथ लागू गरिने भएको छ ।
के भन्छ प्रतिपक्ष ?
प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा र भरोसा जगाउन नसक्ने टिप्पणी गर्छन् । उनका अनुसार नीति तथा कार्यक्रम संकुचित सोचमा सीमित रहेको छ भने समावेश गरिएका धेरै कार्यक्रम पुरानै प्रकृतिका छन् र कार्यान्वयन हुनेमा पनि आशंका छ । जिसीले प्रदेशको आवश्यकता र जनअपेक्षाअनुसार नयाँ सोच, स्पष्ट कार्यदिशा तथा परिणाममुखी कार्यक्रम समावेश गर्न सरकार असफल भएको बताए । विधायिकाको प्रभावकारिता, भौतिक पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षणजस्ता विषयमा सरकार पर्याप्त गम्भीर नदेखिएको आरोप लगाए ।
उनले नीति तथा कार्यक्रम प्रदेशको दीर्घकालीन हितभन्दा पनि मन्त्रीहरूको व्यक्तिगत प्राथमिकताबाट प्रभावित भएको दाबी गर्दै उत्पादन, रोजगारी, सामाजिक न्याय र सुशासनका सवालमा सरकारको स्पष्ट प्रतिबद्धता नदेखिएको बताएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,