कर्णाली केन्द्रित रणनीति तय गर्न भोलिदेखि कांग्रेसको प्रदेश भेला

सुर्खेत–नेपाली कांग्रेसले कर्णाली प्रदेश केन्द्रित दुईदिने प्रदेशस्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने भएको छ । विशेष महाधिवेशनपछिको राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने उद्देश्यसहित वैशाख २८ र २९ गते भेला हुन लागेको हो ।

कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त भेलामा आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा, संगठन सुदृढीकरण तथा सुशासनका विषयमा केन्द्रित भएर छलफल गरिने जनाइएको छ ।

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहनेछ ।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेका अनुसार भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्र अनुशासन र आन्तरिक एकता सुदृढ गर्ने विषयमा विशेष जोड दिइनेछ ।

त्यसैगरी प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुने बताइएको छ । बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई मध्यनजर गर्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि प्राथमिकता दिइने जनाइएको छ ।

भेलामा सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिनेछ । साथै नागरिकमैत्री बजेट निर्माण, समावेशी विकास र पार्टी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने आयोजकले जनाएको छ ।
दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनसम्बन्धी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ । कांग्रेसले उक्त भेलालाई कर्णाली केन्द्रित राजनीतिक, संगठनात्मक तथा विकास रणनीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,