
सुर्खेत- कर्णाली प्रदेशलाई विकासको मुलधारमा ल्याउन मिलेर अघि बढ्ने सांसदहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा कर्णालीका सुइना सत्रका वक्ता प्रनितिनिधिसभा सदस्यहरुले कर्णालीका मुद्दाहरु संघीय संसदका माध्यमबाट आवाज उठाउने प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले कर्णालीको समर्ग विकासमा हुनुपर्ने जति नभएको तर केही नभएको भन्ने तथ्यमा साझा धारणाका साथ प्रस्तुत भए । कर्णालीलाई विकासको मुलधारमा लैजान सांसदहरु दलगत नभई साझा आवाजका साथ संघीय संसदमा प्रस्तुत हुनुपर्नेमा एकमत भए । सुर्खेत–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले निर्वाचन क्षेत्र केन्द्रित नभई समर्ग कर्णालीको चित्र बदल्ने सपनाका साथ भूमिका निर्वाह गर्ने बताए । ‘मैले निर्वाचनमा जाँदा केही बाचा गरेको थिएँ, ती बाचाहरु जनताको जीवनसँग जोडिएका थिए ।
वीरेन्द्रनगरबाट पश्चिम जाँदा निकै कमजोर रहेको पाइयो । पश्चिमलाई पनि वीरेन्द्रनगरसँग जोड्ने र वीरेन्द्रनगरसँग मेल खानेगरी विकास र योजनाहरुमा मेरो पहल हुनेछ,’ उनले भने । समर्ग कर्णाली प्रदेशको सन्दर्भमा उनले हाल अलपत्र परेका योजनालाई पूर्णरुपमा कार्यान्वयन गराउन भूमिका खेल्न प्रतिवद्धता जनाए । ‘हामीले देखेका कुरा र सपनाभन्दा अहिलेको सरकारले त्यहाँ भन्दा माथि सोचेर काम गर्ने सोचेको छ, प्रधानमन्त्री बालेन साहले कर्णालीमै आएर पनि भन्नु भएको छ । ति बाँच पुरा गर्न हामी सरकारलाई घचघच्याउँछौँ । सबैको कुरा यही हो,’ उनले भने ।
यस्तै, जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले कर्णाली सम्भावनाको खानी भएपनि सुनको थालीमा भीख माग्न बाध्य भएको दृष्टान्त सुनाए । ‘कर्णाली हाइड्रोको हव हो । नलसिंगाड, जगदुल्ला, फुकोट, अपरकर्णाली जस्ता हाइड्रो पावरहरु कर्णालीमा छन्, यी आयोजनालाई पुर्णता दिन पहल गर्नुपर्ने छ,’ उनले भने । जडीबुटीको सम्भावनालाई उजागर गरेर त्यसको बजारिकरण र औद्योगिकीकरणमा पहल गर्नु आफ्नो पहिलो भूमिका हुने दावी गरे । यसमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु सामुहिक भावनाबाट अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा जाने बाटो, स्कुलका भवन हेर्दा केही परिवर्तन भए पनि जे हुनुपथ्र्यो, त्यो नभएको उनको भनाई थियो । कर्णली विकासका दुई आधार भेरी कोरिडोर र कर्णाली कोरिडोरलाई पूर्णता दिन संसदमा सशक्त आवाज उठाउने बुढाले प्रतिवद्धता जनाए ।
दैलेखबाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको सभ्यता नेपालको सभ्यता हो पनि भन्ने र हामी विपन्न पनि छौँ भन्ने अवस्था परिवर्तन गर्न संघीय संसदमा भूमिका खेल्ने दावी गरे । ‘उतिबेला तिब्बतको खारी क्षेत्रबाट नुन, सुन हाडसिंजा आउँथ्यो र त्यहाँ हामी सबै क्षेत्रका मान्छे पुगेर ल्याउँथ्यौँ । त्यसैले त्यसलाई हाडसिँजा भनिएको होला । कैलाश, ज्वाला र सिँजा सभ्यतालाई एउटै डालोमा राखेर विश्लेषण गर्दा कर्णाली सभ्यता र त्यसबाट नेपाली सभ्यता देखिन्छ । कर्णालीले यो मुलुकलाई भाषा दियो । त्यसैले कर्णाली इतिहासमा विराट छ । अब मेरो योजना पेट्रोलियम पदार्थको उत्खनन् गर्ने छ, यस विषयमा म सरकारलाई घचघच्याउँछु,’ सांसद पोखरेलले भने । कर्णाली राजमार्ग लगायत अन्य रणनैतिक सडकका विषयमा विगतामा निरन्तर आवाजा उठाएको दावी गर्दै उनले पूर्वाधार विकासमा केही पनि नभएको भन्ने भाष्य गलत रहेको बताए । यद्यपी, जुनरुपमा कर्णालीले पूर्वाधार विकासमा लिनुपर्ने गति भने नलिएको बताए ।
यस्तै, सल्यानबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले कर्णाली बदल्ने सपनाका साथ संसदमा उभिएको दावी गरे । ‘हामीले हिजो व्यवस्था परिवर्तनका लागि थुप्रैले योगदान गरका छौं । तर अहिलेको व्यवस्थामा भ्रष्टाचार बेथिति बढ्यो । अब त्यसलई न्यूनीकरण गर्नुपर्ने अभिभारा हामी माझ छ । हामीले कर्णाली बदल्नका लागि सपना देखेका छौँ, यहाँका जनताले त्यसैका लागि हामीलाई पठाएका छन् । यहाँको एक तिहाई जनसंख्या गरिबीको रेखामुनी छ, अन्य तथ्याङ्कमा पनि हामी पछि छौँ । त्यसैले समग्र कर्णालीको परिवर्तनका लागि सबैजसो एजेण्डामा रहेर काम गर्नुपर्ने छ,’ सांसद मल्लले भने ।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले कर्णालीको स्वास्थ्य र शिक्षामा धेरै काम गर्न बाँकी रहेको बताइन । त्यसका लागि असल नीति आवश्यक पर्ने र नीति निर्माणमा आफूले निर्णायक भूमिका खेल्ने बताइन । उनले भनिन् ‘समान स्वास्थ्य उपचार, समान शिक्षा आजको आवश्यकता हो । साथै, सामाजिक न्याय र रोजगारीको क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने छ,’ उनले भनिन् । विगतमा सबेजसो दलललाई मिलाएर भोट दिएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम नभएको दृष्टान्तलाई तोड्न संसदमा आफुले भूमिका खेल्ने बताइन ।



कर्णाली समय । १ बैशाख २०८३, मंगलवार १८:२३