सुर्खेत– कर्णाली प्रदेश मन्त्रिपरिषद्ले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कृषि विज्ञ सूर्यनाथ योगीलाई नियुक्त गरेको हो ।
दुल्लू नगरपालिका १० गमौडी स्थायी ठेगाना भएका उनी हाल वीरेन्द्रनगर ४ भैरवस्थानमा बस्छन् । नेपाल सरकारको सेवानिवृत्त उपसचिव उनीसंग लामो समय विभिन्न जिल्लामा कृषि विकास कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छ । पछिल्लोपटक उनी योगी नरहरिनाथ शिक्षालयका प्रमुखका रुपमा कार्यरत थिए ।
त्यस्तै आयोगका सदस्यहरुमा रास्कोट नगरपालिका ३ कालीकोटका अशोकनाथ योगी र मुगुको छायाँनाथ रारा नगरपालिका ५ का डम्मरबहादुर रावललाई नियुक्त भएका छन् । उपाध्यक्ष र सदस्य रावल एमाले तथा सदस्य योगी कांग्रेस कोटाबाट सिफारिस भएका हुन् ।

कर्णाली समय । २४ श्रावण २०८१, बिहीबार ११:३९