सुर्खेत- वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा कर्णाली मिडिया सेन्टर नेपाल प्रालिको सहजीकरणमा शनिबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
कार्यक्रममा सेवाग्राहीहरुले योजनाको उपभोक्ता समिति गठन गर्दा लाभान्वित समुदायको भेलाबाट गर्नुपर्ने, वडा भित्रका सडकहरुको स्तरोन्नति गर्नुपर्ने, खानेपानी विद्युतको समस्या समाधान गर्नुपर्ने, सरसफाइलाई प्रभावकारी बनाउनुपर्ने, वडा कार्यालयको भवन साँघुरो भएकाले नयाँ ठाउँमा सर्ने वा त्यसै ठाउँमा निर्माण गर्ने निक्र्यौल गर्नुपर्ने लगायतका सवालमा जिज्ञासा राखेका थिए ।
लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, लागू औषध दूव्र्यसनी न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने, कृष्ण सामुदायिक वन उपभोक्ता समिति र त्रिपुरेश्वर माध्यामिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नुपर्ने, नगर योजनाका सडकहरुको लगत कट्टा गर्नुपर्ने सवालहरु कार्यक्रममा उठाइएको थियो । सहभागीहरुको जिज्ञासाको जवाफमा वडा अध्यक्ष दिनेश खत्रीले वडाको विकासका लागि सीमित स्रोत साधन र अपेक्षा धेरै भएकाले सोचे अनुरुप हुन नसकेको बताए । वडाको विकासका लागि प्रदेश र संघीय सरकारसंग समन्वयकारी भूमिका खेलिरहेको उनको भनाई छ ।
वडाध्यक्ष खत्रीले सेवा प्रवाहलाई चुस्त दुस्त बनाउनका लागि वडावासीले दिएका सुझावहरुलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा वडा सचिव कल्पना लामाले चालू आर्थिक वर्षमा वडाबाट भएको सेवा प्रवाह, विकास निर्माण र कार्यक्रमबारे जानकारी गराइन् । वडाबाट विनियोजित योजना तथा कार्यक्रम अधिकांश सम्पन्न भैसकेको उनको भनाई छ । वडा सदस्यहरु हरि पौडेल, दिपेश गिरी, मनमाया विक र बेलु दर्लामीले वडाको विकास र सेवा प्रवाहका लागि आफूहरु प्रतिवद्ध रहेको धारणा राखे । वडा प्राविधिक दिपक घिमिरे, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख योगेन्द्र बमले सहभागीका प्रश्नको जवाफ दिए ।
कार्यक्रममा सहभागीहरुले उठाएका सवालहरुका आधारमा विभिन्न चार वटा लिखित प्रतिवद्धता गरिएको छ । वडाबाट कार्यान्वयन गर्ने योजनामा उपभोक्ता समिति गठन गर्दा अधिकतम लाभग्राहीहरुको भेला गराई निष्पक्ष रुपमा समिति गठन गर्ने, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने, टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गरी वडाको विकासमा सक्रिय बनाउने र लक्षित वर्ग कार्यक्रमहरुलाई प्रभावकारी थप प्रभावकारी बनाउने प्रतिवद्धता गरिएको छ ।
कर्णाली समय । २३ असार २०८१, शनिबार १८:४७