कर्णालीले विभागीय टोली एपिएफलाई हरायो

सुर्खेत- कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको छ।ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा २१ रनले पराजित भएसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल भएको छ ।

जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अल आउट भयो । एपीएफलाई जितको लागि ४२ बलमा २२ रन चाहिएको थियो । तीव्र गतिका बलर प्रकाश जैसीले ४ बलमा तीन विकेट लिँदै रोमाञ्चक जित दिलाए । एपीएफका ओपनर आसिफ शेखले ११६ बलमा १० चौका र २ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन । उनको प्रधानमन्त्री कपमा दोस्रो शतक हो । यसअघि २०२२ मा कर्णालीविरुद्ध नै १३० रन बनाएका थिए ।

एक समय ९२–६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अमर ७१ बलमा १ छक्कासहित २८ रनमा नट आउट रहे । लोकेश बम ११, सुमित मजर्हन ९,रोहित पौडेल १४, सन्दीप जोरा २ र भुवन कार्की ३ रनमा आउट भए । कर्णालीका प्रकाश जैसीले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले २-२ विकेट लिए । दीनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णली ४४.१ ओभरमा २०६ रनमा अल आउट भएको थियो । कर्णालीको जितमा मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले । अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

एक समय ३०–३ को अवस्थामा पुगेको कर्णालीलाई हिमान्शु र अर्जुनले १११ रनको शतकीय साझेदारी गरेका थिए । टियु एन्डबाट आएका तीव्र गतिका बलर अमरसिंह राउटेला २८ औं ओभरको दोस्रो बलमा टप एज लागेर थर्डम्यानमा उनी रमेश कुर्मीबाट क्याच आउट भए । त्यसअघि कर्णालीका ओपनर निश्चल रावल स्पिनर रमेश कुर्मीको बलमा ६ रनमा एज लागेर आसिफ शेखबाट क्याच आउट भएका थिए । राजेश खड्का १ रनमा रन आउट भए ।

रविन्द्रजंग शाही ३० बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भएका थिए । दीपेन्द्र रावत २४ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दीनेश अधिकारी १९ बलमा ४ चौकासहित १९ र प्रकाश जैसी १० रनमा आउट भए । कर्णालीबाट हिमान्शु ७, रविन्द्र १, अर्जुन र दीपेन्द्रले ३–३ गरि कुल १४ छक्का हानेका थिए । एपीएफका मौशम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १–१ विकेट लिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,