सुर्खेत– जसले आफू बुढो हुँदै गएपछि युवालाई समुदायको नेतृत्व हस्तान्तरण गरेर त्यागको नमूना देखाए, इमान्दार, समझदार, सबैलाई मिलाउन सक्ने अगुवाको पहिचान बनाए, मुखिया अरु नै भएपनि अनेकन विवाद, समस्या सिर्जना हुँदा समाधान दिए, समुदायका आड भरोसा थिए, त्यसकारण राउटे समुदायमा “महामुखिया“ को छुटै पद नभएपनि सम्मानस्वरुप यो उपाधि पाए, मुखिया थुप्रै बनेपनि महामुखिया उनी मात्र भए । उनै राउटे इतिहासका एक धरोहर ६९ वर्षीय महामुखियाको दैलेखको भैरवी गाउँपालिका ३ स्थित रतुवाखोलामा आइतबार निधन भएको छ ।
कोइराला गाउँबाट रतुवाखोलामा बसाई सरेको पाँचौं दिन महामुखिया निधन भएपछि राउटे समुदाय शोकमा छ । आइतबार निधन भएलगत्तै राउटे समुदायले शव गाडेर बस्ती छाडेका छन् । आफ्ना सदस्यको मृत्यु भएलगत्तै बसाइँ सर्ने यो समुदायमा प्रचलन छ ।
स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ देखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेका थिए । उनकी ५६ वर्षीय श्रीमति दुनी पनि लामो समयदेखि अस्वस्थ छिन् । उनीहरुबाट १५ छोराछोरी जन्मेका थिए । तीमध्ये दुई सन्तानमात्र जीवित रहे । कान्छो छोरा नारायण शाही गत वर्ष सुतेको बेला ओछ्यानमा लागेको आगोले पोलिएर एक महिना लामो उपचार अवधिमा ज्यान गएको थियो ।
कर्णाली समय । २० कार्तिक २०८०, सोमबार १३:१९