५ जेठ, सुर्खेत– सोमबार कर्णाली प्रदेशसभाको चालू अधिवेशनको छैटौँ बैठक आव्हान गरिएको थियो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्णालीका सडकका बारेमा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने, मुख्यमन्त्री यामलाल कँडेलले महालेखाको सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची थियो । दिउँसो ३ बजेका लागि तय गरिएको बैठक सभामुख नन्दा गुरुङले प्रारम्भ गरिन् । तर, संसदमा फरक दृश्य देखियो । प्रतिपक्ष बेञ्च खाली थियो ।
मध्यपहाडी राजमार्ग अभियानका क्रममा सुदुरपश्चिमबाट कर्णाली प्रवेश गरेका आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुको स्वागतमा माओवादी केन्द्रका सांसदहरु दैलेख–जाजरकोटतर्फ उक्लिएका थिए । कर्णालीमा माओवादीका १३, राप्रपा र एकिकृत समाजवादीका १÷१ जना सांसद गरी प्रतिपक्षमा १५ जना सांसद छन् । राप्रपाकी सांसद सन्तोषी शाही बिरामी रहेको र एकिकृत समाजवादीकी सांसद कल्याणी खड्का गृह जिल्ला रुकुम पश्चिम गएका प्रतिपक्षी बेञ्च खाली हुन पुग्यो ।
माओवादी सांसदहरु उपस्थित नभएपछि सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक कांग्रेस सचेतक विष्टले संसदमै माओवादीप्रति रोस प्रकट गरे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय सहमति भएको विषयलाई माओवादीले नजरअन्दाज गरेपछि विष्टले आक्रोश व्यक्त गरे । उनका अनुसार प्रतिपक्षी दल माओवादीका तर्फबाट सांसद मिलन खड्काले हस्ताक्षर गरेकी थिइन् । ‘सर्वदलीय सहमति जुटेर कार्यसूचीमा प्रवेश गरेको विषयमा छलफल हुने दिन प्रतिपक्षको बेञ्च खाली देख्दा अचम्म लागेको छ । मेरो विचारमा यो दुर्लभ अभ्यास हो । यदि उपस्थिति नहुनुपर्ने थियो भने हिजो किन सहमति गरेको हो ?’ संसद जस्तो गरिमामय थलोलाई आफूअनुकूल चलाउन खोज्नु थितिविपरीत भएको सांसद विष्टको दाबी थियो ।

कर्णाली समय । ७ जेष्ठ २०८२, मंगलवार १७:२३