सुर्खेत– सन् १९६१ मा आजकै दिन युरी गाग्रिनले पहिलो पटक अन्तरिक्षको यात्रा गरेका थिए । गाग्रिनको ‘भोस्तोक–१’ स्पेसक्राफ्ट रुसी समयअनुसार १९६१ अप्रिल १२ बिहान ९ बजेर ७ मिनेटमा उडेको थियो ।
उक्त यान पृथ्वीको कक्षमा पुगेर १० बजेर ५५ मिनेटमा सोभियत संघमा अवतरण गरेको थियो । उनले १ घण्टा ४८ मिनेट अन्तरिक्षमा बिताएका थिए ।
उडानपछि गाग्रिनको चर्चा विश्वभर भएको थियो । उनलाई ‘अर्डर अफ लेनिन’ अवार्ड प्रदान गरिनुका साथै ‘सोभियत संघको नायक’ घोषित गरिएको थियो । त्यसका साथै सोभियत संघका विभिन्न ठाउँमा उनका स्मारकहरू बनाइनुका साथै उनको नाममा कैयौं सडकहरूको नामकरण गरिएको थियो ।
१९३४ को मार्च ९ मा सोभियत संघको क्लुसिनोमा जन्मिएका गाग्रिनले मस्कोस्थित विद्यालयमा अध्ययन गरेका थिए । साराटोभस्थित इन्ड्रस्टियल कलेज भर्ना भएका उनले सँगसँगै उडान प्रशिक्षण लिएका थिए । त्यसपछि उनी ओरेनबर्गस्थित सोभियत हवाई फौजको स्कुलमा आबद्ध भएका थिए । गाग्रिनको ३४ वर्षको उमेरमा निधन भएको थियो । उनको १९६८ को मार्च २७ मा जहाज दुर्घटनामा ज्यान गएको हो ।
कर्णाली समय । २९ चैत्र २०७९, बुधबार २१:१७